विराटनगर : पति र सासूले मटितेल छर्किएर जिउँदै जलाएर गम्भीर घाइते भएकी सिरहा कल्याणपुर नगरपालिका–८ की २० वर्षीया कञ्चनदेवी खत्वे मण्डललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आगोले उनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
बिहीबार दिउँसो घरायसी झगडा हुँदा उनका पति र सासूले शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । शरीरको सम्पूर्ण भाग आगोले जलेर गम्भीर घाइते भएपछि प्रहरीले उनको उद्धार गरेको थियो ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका डिएसपी सुकदेव खनालले घाइते कञ्चनदेवीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए ।
धरानमा अलपत्र अवस्थामा रहेको उनको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ । उनको माइती पक्षको पहलमा शुक्रबार बिहान ४ बजे थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
डिएसपी खनालले पीडित महिलाले आफ्नै पति र सासूले आगो लगाएर जलाएको प्रारम्भिक बयान दिएको बताए । स्थानीयबासीले समेत उनीहरूको घरमा झगडा हुने गरेको जानकारी दिएको डिएसपी खनालको भनाइ छ ।
पति फरार, बच्चाको बेहाल
घटना भएलगतै उनका पति बेपत्ता भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ । घटनामा संलग्न भएको आरोप लागेका कञ्चनदेवीका पति बेचु मण्डल फरार रहेको प्रहरीको भनाइ छ । उनकी सासू ४५ वर्षीया सुरजी खत्वेलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरजीले आफूहरूले आगो नलगाएको बयान दिए पनि पीडितको प्रारम्भिक बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी खनालले बताए । उनले भने, ‘पीडित गम्भीर घाइते छिन् । हामीले उनकै बयानका आधारमा अनुसन्धान गर्ने हो । घटनामा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउँछौँ ।’
पति फरार, सासू प्रहरी हिरासतमा भएपछि कञ्चनदेवीको २ वर्षीय बच्चाको बेहाल भएको छ । उनको २ वर्षीय बच्चालाई अहिले कसले हेरदेख गर्ने भन्ने अन्योल छ । डिएसपी खनालले आजको न्युजसँग भने, ‘सानो बच्चालाई प्रहरीले ल्याउने कुरा भएन । बच्चालाई अहिले छिमेकीहरूले राखेको भन्ने बुझेको छु ।’
हेर्नुस् भिडियाे : (भिडियाे स्राेत : HB Tamrakar काे फेसबुक)
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६