विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा एक विवाहित युवती यतिबेला जीवन मरणको दोसाँधमा छिन् ।
आफ्नै पति र सासूको आक्रमणबाट गम्भीर घाइते भएकी करिब १९–२० वर्षीया युवती जीवन जोगाउन पुकार गरिरहेकी छिन् । सिरहा घर बताउने ती युवती को हुन् अहिलेसम्म खुल्न सकेको छैन । शुक्रबार ती युवतीलाई पति र सासूले शरीरमा मट्टितेल छर्किएर जिउँदै जलाउने प्रयास गरेका थिए ।
जिउमा आगो लागेर गम्भीर घाइते भएकी उनलाई एक टेम्पो चालकले प्रतिष्ठानमा ल्याएर छोडेका थिए । आमाको उपचारमा प्रतिष्ठान पुगेकी धरानकी फेसन डिजाइनर जिता गुरुङले उनको बेवारिसे अवस्था देखेपछि जीवनरक्षाका लागि सबैसँग आग्रह गरेकी छिन् ।
गुरुङले आजको न्युजसँग भनिन्, ‘शरीरको सबै भाग जलेको छ । उनी बोल्न सक्ने अवस्था छैन । क्याम्पले पनि उपचारमा राम्रोसँग ध्यान दिएको छैन । सकिन्छ भने एक महिलालाई सबै मिलेर बचाउँ ।’ ती महिलाको स्थायी घर र ठेगाना अहिलेसम्म खुलेको छैन ।
प्रतिष्ठानले उनको उपचार त्यहाँ सम्भव नभएको र सकेसम्म काठमाडाैं लगेर उपचार गरेमा बचाउन सकिने जानकारी दिएको गुरुङले बताइन् । उनले भनिन्, ‘उनीले आफूलाई बचाइदिन मात्र पुकारा गरिरहेकी छन् ।’
घरेलु हिंसाको शिकार भएकी ती महिला मधेसी मूलकी हुन् । उनी राम्रोसँग नेपाली भाषा बोल्न समेत जान्दिनन् । अस्पतालमा उनको न कुरुवा छन्, न आफन्त । उनलाई आवश्यक पर्ने औषधि लिन जानेसम्म कोही छैनन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६