काठमाडौं : नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको अवस्था लथालिंग देखिएको छ । त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा सञ्चालन हुँदै आएका विभिन्न विभागहरु अस्तव्यस्त छन् । कतिपय विभागमा प्राध्यापकलाई बस्ने कोठासम्म छैन भने कक्षा कोठा र शौचालयसम्मको अभाव देखिएको छ । देशकै पुरानो र ठुलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमै विद्यार्थीको आकर्षण घट्दो छ ।
विद्यार्थीको आकर्षण छैन,‘सेमेस्टर सिष्टम’ बाधक !
गरिब र मध्यम वर्गका विद्यार्थीको मुख्य गन्तव्य त्रिभुवन विश्वविद्यालय सेमेस्टार प्रणालीमा गएपछि भने आकर्षण घटेको छ । अध्ययनका हिसावले सेमेस्टर प्रणाली राम्रो मानिन्छ । तर, काम गरेर पढ्नुपर्ने मध्यम वर्गका विद्यार्थीलाई भने सेमेस्टर प्रणाली समस्या बन्न पुग्यो । जसको नकारात्मक असर विश्वविद्यालयका कक्षा कोठाहरुमा देखिएका छन् । कुनै बेला ढोकासम्म विद्यार्थी खचाखच हुने गरेपनि केही वर्ष यता मानविकी संकायका केही विभागहरु विद्यार्थी नआएपछि समस्यामा छन् । ८० प्रतिशत उपस्थिती हुनैपर्ने, प्रयोगात्मक कार्यका लागि फिल्डमा जानुपर्ने र कतिपय विषयको कक्षा दिउँसो सञ्चालन हुँदा काम गर्दै पढ्ने विद्यार्थीहरु विश्वविद्यालय जानबाट रोकिएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय हिन्दी विभागकी प्रमुख सहप्राध्यापक डा.संजीता वर्मा सेमेस्ट सिस्टमका कारण विद्यार्थीहरुको आकर्षण घट्दै गएको बताउँछिन् । ‘विद्यार्थीको आकर्षण छैन । आएका विद्यार्थीलाई पनि राम्रोसँग पढाउने कक्षा कोठा अभाव छ,’ उनले भनिन्, ‘शौचालयसम्म छैन । विभाग प्रमुखको कार्यकक्षमै सबै बस्नुपर्ने अवस्था छ ।’
संकटमा इतिहास, राष्ट्रवादको नाराको मार हिन्दी विभागमा
नेपाली इतिहास,संस्कृति र पुरातत्व केन्द्रीय विभाग सेमेस्टार प्रणाली लागु भएपछि सबैभन्दा धेरै समस्यामा परेको छ । आफ्नो इतिहासकै अध्ययनमा विद्यार्थीमा आकर्षण नदेखिँदा कहिले भर्ना शून्य अवस्था बेहोनुपर्यो त कहिले भर्ना भएका सबै दोस्रो सेमेस्टर पुग्दा हराए । ०७१ सालमा ७ जना भर्ना भए । जसमध्ये ३ जना पढ्न आए । १ जनाले मात्र अध्ययन पुरा गरे । ०७२ सालमा जम्मा २ विद्यार्थी भर्ना भए तर, पढ्न कोही पनि आएनन् । ७३ मा ३ जना मात्र विद्यार्थी भर्ना भए । ०७४ सालमा त भर्ना नै शून्य भयो । विद्यार्थी नै आउन छाडेपछि विभागले सक्रियता बढायो । इतिहासका बारेमा विभिन्न ठाउँमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेपछि यो वर्ष भने अवस्था सुध्रिएको छ । ०७५ सालमा २५ विद्यार्थी इतिहास विभागमा भर्ना भएको विभागले जनाएको छ । ‘विहान कक्षा सञ्चालन गरेपछि विद्यार्थीको आकर्षण बढेको देखिन्छ,’ इतिहासका एक प्राध्यापकले भने, ‘इतिहासको महत्वबारे केही ठाउँमा गएर कार्यक्रम नै गर्यौ । त्यसले पनि केही काम गर्यो ।’
त्रिभुवन विश्वविद्यालयमा रहेको अर्को केन्द्रीय विभाग हो, हिन्दी केन्द्रीय विभाग । जहाँ हिन्दी भाषाको पढाई हुन्छ । जुन विभागमा यसवर्ष अघिल्लो वर्षभन्दा विद्यार्थीको संख्या बढेको छ । पूर्व विभाग प्रमुख समेत रहेकी डा श्वेता दीप्तिले यसवर्ष ९ जना विद्यार्थी भर्ना भएको जानकारी दिइन् । ०७४ मा ४ जना मात्र विद्यार्थी थिए । हिन्दी विभाग विश्वविद्यालयमा आफ्नो विभाग उपेक्षित हुँदै गएको भन्दै चिन्तित देखिन्छ । नाकाबन्दीपछि देशमा चलेको राष्ट्रवादको नाराले हिन्दी विभाग समेत समस्यामा परेको छ । ‘हिन्दी भनेपछि सकारात्मक दृष्टिकोण छैन,’ पूर्व विभागीय प्रमुख दीप्ती भन्छिन्, ‘तर, यो विषयको अन्तर्राष्ट्रिय रुपमा राम्रो स्कोप छ ।’ हिन्दी विषय पढाउनका लागि पर्याप्त कक्षा कोठा समेत छैन । यो विभागले शौचालय समेत राजनीति शास्त्र विभागको प्रयोग गर्दै आएको छ । यो विभागमा ६ मध्य ३ स्थायी र ३ करारका प्राध्यापक छन् । देशकै पुरानो विश्वविद्यालयमा विभागीय प्रमुख कम्तीमा प्राध्यापक हुनुपर्ने हो । तर, यो विभाग सहप्राध्यापक डा.संजीता वर्माकै नेतृत्वमा चलिरहेको छ । स्वभाविक रुपमा वृत्ती विकास नहुँदा यस्तो अवस्था आएको दीप्तिले बताइन् ।
त्यस्तै, राजनीतिशास्त्रमा ५० जनाको कोटा छ । जसमा यो वर्ष कोटा पुरा भएको छ । विहानी सिफ्टमा पढाई हुने भएकाले राजनीतिशास्त्रमा विद्यार्थी अध्ययनका लागि आउन थालेको विभागले जनाएको छ । कतिपय विभागमा विद्यार्थी भन्दा शिक्षकको संख्या बढी छ ।
एउटै टहरामा धेरै विभाग, कक्षा कोठा र शौचालयसम्म छैन
विश्वविद्यालयमा कतिपय विभागका लागि कक्षा कोठासमेत अभाव छ । एउटै टहरामा ३ वटा विभाग सञ्चालनमा छन् । राजनीतिशास्त्र केन्द्रीय विभाग,हिन्दी केन्द्रीय विभाग र संस्कृत केन्द्रीय विभाग एउटै टहरामा छ । ति विषय पढाउनका लागि कक्षाकोठा समेत पर्याप्त छैन । विभागीय प्रमुखकै कार्यकक्षमा सबै शिक्षकहरुले काम चलाउँदै आएका छन् । राजनीतिशास्त्र केन्द्रीय विभागले बनाएको शौचालय ती सबै विभागले प्रयोग गर्ने गरेका छन् ।
किन छैन आकर्षण ?
सेमेस्टर प्रणालीमा कक्षामा नियमित ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था छ । त्यस्तै, केही विषयमा अनिवार्य स्थलगत भ्रमण गर्नैपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालय रोज्दै आएको मध्यम वर्ग काम गर्दै पढ्नुपर्ने बाध्यतामा छ । उसका लागि कक्षा कोठामा हाजिरी पुर्याउन र स्थलगत भ्रमणमा जान कठिन हुने गर्दछ । सेमेस्टर प्रणाली आर्थीक रुपमा पनि पढ्नका लागि महँगो छ । कतिपय विभागले दिउँसो पढाउने गरेको छ । जसका कारण समय समेत त्रिवि पढ्न चाहने विद्यार्थीका लागि अमिल्दो छ । ‘मानविकी संकाय पढ्नेहरुका लागि लोकसेवाले कति नै माग गर्छ र ? उनीहरु पढेर जाने कहाँ हो ?’ इतिहास विभागका एक प्राध्यापकले नाम नलेख्ने शर्तमा भने, ‘यस्ता प्रश्नहरुको जवाफ खोज्न नसक्दा पनि उनीहरुलाई मानविकी संकायतर्फ रुची बढाउन सकिएको छैन ।’
कुनै समय इतिहास र राजनीति शास्त्रमा ढोकासम्म उभिएर विद्यार्थीले पढ्नुपर्ने अवस्था थियो । तर, अहिले विद्यार्थी खोज्नुपर्ने अवस्था आएको छ । विद्यार्थीको आकर्षण मानविकीका संकायका विषयमा किन घटिरहेको छ ? त्रिभुवन विश्वविद्यालयमा ३ दशक प्राध्यापन गरेका डा.सुरेन्द्र केसी भन्छन्, ‘जुन शिक्षा रोजगारीसँग जोडिएको हुन्छ । त्यहीँतर्फ विद्यार्थीको आकर्षण हुन्छ ।’ उनले शिक्षाको महत्व आत्मसाथ गर्न नसकेको, विद्यार्थी नेताले धन्दा गर्ने ठाउँ बन्दै गएको र मानविकी संकायले रोजगारीसँग नजोडिएका कारण पनि विद्यार्थीको आकर्षण घटेको बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६