विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले रिना बस्नेतको मृत्यु प्रकरणमा प्रकाशित समाचार र सञ्चारमाध्यमप्रति निगरानी बढाएको जनाएको छ ।
प्रहरीले बिहीबार विज्ञप्ति जारी गर्दै रिनाको मृत्युको विषयमा केही संचारमाध्यमहरूले भम्रपूर्ण समाचार प्रकाशित गरेको जनाउँदै सामाजिक सद्भाव नभड्काउन समेत आग्रह गरेको छ । विभिन्न अनलाइन मिडियाहरूले अतिरञ्जित शीर्षक दिई समाचार प्रकाशित गरेको समेत प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको विषयमा ‘मृतकको लास घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभीमा देखियो’ जस्ता शीर्षक राखी तथ्यहीन, कपोलकल्पित र मनगढन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्यतथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचनासम्बन्धी मौलिक हकको समेत हनन भएको छ । एकजना महिलाको मृत्यु भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुष्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्ध गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाइएको छ ।’
घटनास्थल क्षेत्र तथा उक्त समयको सिसिटिभी फुटेज प्रहरीले अनुसन्धान गरिरहेको र सो रात त्यस्तो ठेला लिएर कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ । सो सिसिटिभी फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६