विराटनगर : मोरङको पथरीमा गत शनिबार बिहान मृत अवस्थामा फेला परेकी रिना बस्नेत (रुपा) को पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । नग्न अवस्थामा सडकमा फेला परेको शवलाई प्रहरीले शनिबार बिहानै पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी घनश्याम श्रेष्ठले रिनाको शवको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट आएको बताउँदै भने, ‘विशेषज्ञ चिकित्सकबाट आएको रिपोर्टले छाती र टाउकोमा गम्भीर चोट लागेको देखाउँछ । हामीले जुन शंका गरेका थियौँ । माथिबाट खसेर, बज्रिएर चोट लागेको छ । त्यही कुरालाई पोस्टमार्टम रिपोर्टले ‘सपोर्ट’ गर्छ ।’
रिनाको मृत्युको विषयलाई लिएर आन्दोलित स्थानीयबासीले उनको बलत्कारपछि हत्या गरिएको हुन सक्ने आरोप लगाउँदै आएका छन् । स्थानीयबासीले संघर्ष समिति नै गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न प्रशासनलाई दबाब दिँदै आएका छन् । प्रहरीका अनुसार शवको पोस्टमार्टममा बलात्कार गरिएको कुनै संकेत फेला परेको छैन । डिएसपी श्रेष्ठले भने, ‘शवको विस्तृत परीक्षण गरिएको छ । मलद्वार र योनीको समेत परीक्षण गरिएको छ । तर बलात्कृत भएको देखिँदैन ।’
रिना बस्नेतको मृत्यु प्रकरणमा प्रहरीले सूक्ष्म तवरले अनुसन्धान गरिरहेको दाबी गरेको छ । प्रहरीले उनको हत्या हो वा आत्महत्या हो प्रस्ट तवरले खुलाएको छैन । यद्यपि यो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरी हतार गर्ने पक्षमा छैन । डिएसपी श्रेष्ठले आजको न्युजलाई भने, ‘प्रहरी कागजी प्रक्रिया मात्र होइन, प्राविधिक प्रक्रियालाई पनि उत्तिकै ध्यान दिन्छ । हामी हतारमा यथार्थ विवरण सार्वजनिक गर्दैनौँ । बरु सत्यतामा केन्द्रत हुन्छौँ ।’
रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरण प्रदेश १ कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानका लागि टोली खटाएको छ । डिएसपी श्रेष्ठले यो घटनामा विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फरकफरक विषय सार्वजनिक भएको जनाउँदै मृत्यु जस्तो विषयमा संवेदनशील हुन आग्रह समेत गरे ।
१० जनासँग सोधपुछ
रिना बस्नेतको रहस्यमय तवरले मृत्यु भएपछि अहिलेसम्म अनुसन्धानका लागि प्रहरीले १० जनासँग सोधपुछ गरिसकेको छ । उनीसँग निकट रहेका कमल नेपालदेखि लिएर शुक्रबार साँझ रिनासँग भेट भएका दुई जनालाई समेत सोधपुछ गरेको छ । बिहीबार बिहान मात्र उनका दुईजना निकट साथीलाई प्रहरीले अनुसन्धानका लागि भन्दै आफ्नो नियन्त्रणमा लिएको छ ।
डिएसपी श्रेष्ठले यो घटनासँग सरोकार राख्ने १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरेको बताए । उनले नियन्त्रणमा लिएकालाई पक्राउ भने नगरेको बताउँदै उनीहरुको विवरण भने खुलाएनन् । ‘हामीले सोधपुछका लागि बोलाएका हौँ । पक्राउ भने गरेका होइन ।’ उनले भने, ‘आवश्यक परेको खण्डमा फेरि आउने गरी पनि कागज गरेर छोडिएको छ ।’
रिनाको हत्यामा संलग्न भनेर सबैभन्दा बढी आरोपित कमल नेपालको बयानबाट हत्या नै भएको भन्ने ठोस कुरा नखुलेको प्रहरीको भनाइ छ । नेपालले रिनासँग पटकपटक फोनमा कुराकानी हुने गरेको स्वीकार गरेको प्रहरीले जानकारी दियो । डिएसपी श्रेष्ठले भने, ‘उनको प्रारम्भिक बयान लिएका छौँ । उनको बयान मिल्छ कि मिल्दैन भनेर पोलिग्राफ परीक्षण समेत गर्ने छौँ ।’
शुक्रबार शवयात्रा
प्रहरीको लापरबाही र चरणबद्ध रुपमा हत्या हिंसाको घटना वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासीले रिना बस्नेतको शुक्रबार शवयात्रासहित अन्तिम संस्कार गर्ने भएका छन् ।
आन्दोलन समितिकी संयोजक कविता पराजुलीका अनुसार शुक्रबार शवयात्राको आयोजना गर्दै श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । शुक्रबार बिहान ११ बजे शवलाई नगरका विभिन्न भागमा परिक्रमा गराई शोकसभाको आयोजना गरिने छ ।
गत शनिबार आफ्नै डेरा अगाडि मृत अवस्थामा फेला परेकी २९ वर्षीया रिनाको तीन दिन भित्र दोषी पत्ता लगाउने सहमति भएको थियो । मंगलबार स्थानीय प्रशासन र संघर्ष समिति बीचमा भएको सहमतिपश्चात् आन्दोलनकारीले बन्द फिर्ता लिएका थिए ।
प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा पाँच जना स्थानीय घाइते भएका छन् । सोही घटनामा टाउकोमा चोट लागी गम्भीर घाइते भएका स्थानीय गोपाल विक, सुदीप राई, मञ्जु पौडेल, जीतबहादुर लावती र ज्ञानेन्द्र विष्ट घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६