काठमाडौं : नेपालमा कम्युनिष्ट सरकारले शेयर बजार ध्वस्त पार्छ भन्ने हल्ला उहिल्यैदेखि चलाइदै आएको छ । कम्युनिष्ट सरकार आएपछि शेयर बजार ह्वात्तै घटेका हुनाले पनि यस कुराको पुष्टि गर्छ पनि । सरकार गठनको पहिलो वर्ष संघीयता, संरचनागत अवस्था लगायतको कारण शेयर मात्रै होइन, विकास निर्माणका कामहरु समेत ठप्पै जस्तो छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बैंकदेखि शेयर बजारसम्मलाई धरापमा पार्यो । हुन पनि नेपालमा यस्तै हुदै आइरहेको छ ।
तर, समय, परिस्थिती र अवस्था विस्तारै परिवर्तन हुदै गएको छ । शेयर बजारमा लगानी गरेर थला परेकाहरु विस्तारै तंग्रिन थालेका छन् । १८ सय विन्दुमा पुगेको शेयर बजार घटेर ११ सयमा झरेर अड्किदा धेरैको जीवन धरापमा पर्यो । सरकार गठनको वर्ष दिन पार गर्नु, आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन लाग्नु, सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा र प्रधानमन्त्रीले अवको वर्षदेखि विकासमा रफ्तार दिने भन्ने सकारात्मक कुराहरुले गर्दा शेयर बजार फेरि माथि उक्लिन थालेको छ ।
मो समयदेखि शेयर बजारमा कारोबार गर्दै आएका सिन्धुलीका उज्वल कार्कीले आईपीओमा पाएका अप्पी हाइड्रोपावरको शेयर बढेर ९०० पुगेपछि विक्री गरे । वर्ष दिनअघि उनलाई यसले मगन्यै फाइदा दियो । तर, अहिले अप्पी हाइड्रो पावरको शेयर घटेर १८० मा झरेको छ । कार्की भन्छन्, ‘मलाई अप्पीले त उकास्यो, तर अरु धेरै कम्पनीको शेयरले डुवायो ।’ शेयर बजार जमेकाहरुको हालत निक्कै नाजुक बनेको कार्की बताउँछन् । ७० प्रतिशत भन्दा धेरै घाटा व्यहोर्नेहरुलाई नयाँ वर्षसंगै बढ्न थालेको शेयर बजारले आशा जगाउदै लगेको उनी वताउँछन् । भन्छन्, ‘अझै केही समय शेयर बजार बढ्छ भन्ने लागेको छ ।’
घिटघिटे अवस्थाबाट गुज्रिएको वाणिज्य बैंकहरुको शेयर किन्ने वा लामो समयसम्म राख्नेहरुले पनि निक्कै घाटा व्यहोरेका छन् । किनभने एक हजार हाराहारीमा भएका वाणिज्य बैंकहरुको शेयर घटेर आईपीओकै हाराहारीमा आइपुग्यो । ‘सर्ट टर्ममा शेयर बजारमा लागेकाहरुले भने समय अनुसार शेयरमा केही नाफा आर्जन गरेका होलान’, कार्की भन्छन्, ‘सर्वसाधरणहरु जस्तो किनेर वर्षौ पर्खिनेहरुको हकमा धेरै घाटा व्यहोर्नु परेको अवस्था छ ।’
धितो पत्र बोर्डमा लगानीकर्ताले लामो समयदेखि विरोध गर्दै आएका थिए । प्रहरीले लाठी चार्जदेखि जवरजस्ती ताल्चा फोरे पनि । आइतबारदेखि विहीबारसम्म प्रत्येक दिन ११ देखि ३ बजेसम्म शेयर बजार खुल्ने गरेको छ । आज बिहीबारको शेयर तालिका हेर्ने हो भने हाइड्रोपावर बाहेक सवैको हरावरा देखिन्छ । जसमा बाणिज्य बैंकहरुले मात्रै लिड गरिरहेका छन् । आज कारोबार भएको उत्कृष्ट दशमा बाणिज्य बैंकहरु रहेका छन् । जसमा सवैभन्दा बढि नेपाल बैंक लिमिटेड रहेको छ । शेयर खुलेको दुई घण्टामै नेपाल बैंक लिमिटेडको सात करोड कारोबार भएको छ । त्यस्तै छिमेकी लधुवित्त विकास बैंकको चार करोड ५६ लाख, सानिमा बैंकको तीन करोड ५२ लाख, प्रभु बैंकको तीन करोड ३५ लाख, एनएमबी बैंकको दुई करोड ९८ लाख कारोबार भएको छ ।
त्यसैगरी नेप्से खुलेको अढाई घण्टासम्ममा १६९ कम्पनीका २७ लाख ५७ हजार ८४७ कित्ता शेयर कारोबार हुदा ८५ करोड ९० लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेप्से परिशुचक विन्दुमा १२९० सम्म पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६