बारपाक (गोरखा) : २०७२ साल वैसाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भुइचालोले नेपालमा ठूलो असर ग¥यो । भूकम्पका कारण करिब ८ हजार बढि मानिसले ज्यान गुमाए, हजारौँ घरबारविहीन भए, बाटाघाटा बिग्रिए । मध्य नेपाल बढी प्रभावित भएता पनि भूकम्पको तरंग दक्षिणको भारत र उत्तरको तिब्बतसम्म फैलिएको थियो ।
गोरखादेखि रसुवा हुँदै सिन्धुपाल्चोक र दोलखासम्म फैलिएको भूकम्पको दरार वरपर पराकम्पन क्रमिक रुपमा चलिरह्यो । दोलखामा बैसाख २९ गते गएको दोस्रो ठूलो भुइचालोले चरिकोट र सिंगटीमा विनाश ग¥यो । २०७२ साल वैसाख १२ गतेको भूकम्पको पराकम्पन अहिलेसम्म पनि चलिरहेको छ । २०७६ साल वैसाख ११ गते नौबिसे केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको पराकम्पन पछिल्लो उदाहरण हो । चार वर्ष बितिसक्दा प्रायको मनबाट भूकम्पको स्मरण धमिलो हुदै गएको छ । तर अझै पनि यस्ता ठाँउ छन् जहाँ भुकम्पको त्रास मेटिएको छैन । बारपाक यस्तै एक ठाँउ हो ।
बारपाक र लाप्राक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सबैभन्दा बढि असर पनि यहिँ नै ग¥यो । केन्द्रबिन्दुको गहिराइ कम भएकाले पनि असर ठूलो देखियो । तर भूकम्पले ध्वस्त पारेको बारपाक सुल्क्यौट गाँउपालिका वडा नम्बर १ र २ नयाँ संरचनाले उठ्ने प्रयास गरेको छ । २०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सो भूकम्पपछि करिब ९० प्रतिशत ध्वस्त भयो । हजारौंको ज्यान गयो । अहिले भने स्थानियबासी भूकम्पको चोटलाई बिर्सदै दैनिक जीवनयापनमा फर्किसकेका छन् ।
तर पनि ७.८ रेक्टरको भूकम्प उनीहरुको मस्तिष्कमा ताजै छ । घरिघरी सपनाबाट ब्युँझाउछ त कहिले हात खुट्टा काम्ने गराउछ । त्यसो त देशका विभिन्न भागमा भूकम्पपछि भूकम्पको त्रासले ग्रसितलाई मनोवैज्ञानिक परामर्शका कार्यक्रमहरु सञ्चालन गरिएको थियो । तर पनि परामर्शको कमीले बारपाकबासीमा त्रास जीवीतै छ ।
वैसाख १२ मा भूकम्प जाँदा बारपाक सुल्क्यौटकी ४२ वर्षीया धनमाया घले पर्खाल बनाउन इट्टा बोक्दै थिइन । उनी र उनको परिवार घरभित्रै भएकोले ज्यान त बच्यो तर घर पुरै ध्वस्त भयो । उनलाई अहिले पनि त्यो दिन सम्झदा कहाली लाग्छ । उनी भन्छिन, ‘त्रास अझै हटेकै छैन । बिर्सनै सकेको छैन ।’ अहिले पनि ठूलो पानी पर्दा, आँधीवेरी चल्दा उनको हात खुट्टा लल्याक लुलुक हुन्छन् । उनको होस हराउँछ । उनी पालमा बसेको कष्टकर एक वर्ष सम्झन पनि चाहन्नन् ।
‘भूकम्प जाँदा शुरुमा त विस्तारै हल्लायो त्यसपछि त केही याद नै नहुने गरि जमिन फाटिएलाझैँ भयो,’ उनी थप्छिन् ‘आफन्तहरु सबै तितरबितर भए । मर्ने मरे । बाँच्नेहरु आफ्नो ज्यान जोगाउन हस्याङ फस्याङ गर्न थाले ।’ कुटो कोदालो बोकेर डोकोमा लाश बोकेर रुदै आफ्नो मान्छेको लाश पुर्न जानेहरुको ताँतीले उनलाई अझै पनि सपनामा झस्काउछ ।
अहिले उनको जीवन सामान्य छ । दुई छोरा र श्रीमानसँग बस्छिन् । तर उनका दुःखका दिन भूकम्प गएदेखि अझै उस्तै छ । श्रीमानले पहिले च्यानल जोड्ने काम गर्थे । भूकम्पपछि काम पनि रोकियो । यहाँ सबै ध्वस्तै भयो । अहिले डिस होमहरु छ । त्यसमा काम पाँइदैन । उनको श्रीमानले विदेश जान पनि खोजे । तर उमेर ४५ कटेकोले पाएनन । उनी अहिले दिदीको घरमा चिया खाजा पसल चलाएर बस्छिन । ७/८ वर्षअघिसम्म त पर्यटकहरु आउँथे । निकै चहलपहल हुन्थ्यो । अहिले त ठप्पै छ,’ उनले सुनाइन् ।
भूकम्पपछि बारपाक र लाप्राकमा पर्यटनमा धेरै ह्रास आएको छ । हुन त भूकम्प पश्चात राहत र पुननिर्माणको लाइन लाग्यो । राहत लिएर विदेशीहरु आए । तर ति सबै क्षणिक थिए । बारपाक र लाप्राक घुम्न भनेर कोही आएनन् । भूकम्पले त्यो आकर्षण पनि छिनेर लग्यो ।
सरकारले दिएको राहत र आफ्नो प्रयासले बारपाकबासीले घरहरु बनाइसकेका छन् । तर धनमायालाई तिन लाखले घर बनाउन पुगेन । ‘एकमुष्ट दिएको भए त सकिन्थ्यो होला । तर त्यसरी पाइएन । पछि आफै दुई लाख थपेर बस्न मिल्ने टहरा बनायौँ,’ उनले भनिन् ।
धनमाया घलेजस्तै बारपाककी देवमाया तामाङ भूकम्प र पराकम्पनका दिन सम्झनै चाहन्नन् । श्रीमान् र श्रीमती मात्र छन् उनीहरु । उनी भन्छिन, ‘घर त पुरै ढल्यो । धन्न बाच्न सफल भइयो । कति छिमेकीहरु घरभित्रै परे ।’ पुराना काठ, ढुंगा र सरकारले दिएको राहतले उनको बस्न लायक घर भने बन्यो । उनलाई भूकम्पको डर हटिसक्यो । ‘डराएर के गर्ने र ? आफ्नो ज्यान जोगाउन सके जोगाउने नत्र मर्न लेख्या छ भने कसरी टर्छ र ?’ उनले हाँस्दै भनिन् ।
एक वर्षसम्म पालमा बस्दा बुढाबुढी र बालबच्चाहरुलाई सम्झाउने काम हुन्थ्यो तामाङको । म आफै डराउथे त उनीहरु झन डराउथे । त्यसैले सबैलाई सम्झाउदै भूकम्पका दिनहरु सामना गरेको उनी बताउछिन् । २०–२२ वर्षदेखि बसेको ठाँउ ध्वस्त हुँदा उनको चित्त दुख्यो । तर सबै रुने, कराउने, आत्तिने हुँदा उनी पनि कमजोर हुन सकिनन । जिम्मेवारीका कारण कमजोर हुने सुविधा उनलाई थिएन ।
धेरै मानिसको मन मस्तिष्कमा भूकम्पको त्रासले निको नहुने काँडा बिझेको छ । तर पनि अहिले बारपाक हेर्दा यस्तो होला भनेर कसैले कल्पना गरेका थिएनन् । विभिन्न संघ संस्था र नेपाल सरकारको पुनर्निमाण कार्यक्रमले बारपाकको मुहार अरु ठाँउभन्दा चाडै फेरिएको स्थानियवासी बताउँछन् । सरकारको तिन लाखमा मात्र भर नपरी आफ्नो घर आफै बनाँउ भन्ने मनस्थितिले पनि बारपाक चाडै तंग्रिएको स्थानीयबासी पूर्ण बिक बताउँछन् । ३३ वर्षीय बिक भर्खरै दुबईबाट फर्केका थिए । २०७२ सालको भूकम्प जाँदा घरमै थिए । ध्वस्त बारपाक र नयाँ बारपाकलाई नजिकैदेखि नियालेका उनी भन्छन्’ ‘म फेरि विदेश फर्कने सोचमा थिए । तर यहाँ भूकम्प गएपछी विदेश जाने सोच बदले । यहाँ बसेर गाउँका भूकम्पपीडितलाई सहयोग गर्न पाए, संघ सस्थामा संलग्न हुन पाए ।’
मानवीय क्षती धेरै भएता पनि विनाशपछि बारपाक विकसित भएको उनको ठम्याई छ । हरेक कुराको नकारात्क र सकारात्मक पक्ष भएजस्तै विनाश लिएर आएको भूकम्पले विकासको सुरुवात पनि ग¥यो । गाँउको पुनःस्थापना र विकास मात्र नभई मानिसको जीवनशैली र मानसिकतामा पनि आमुल परिवर्तन आएको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिले सबैजना एकैखाले जीवन बाँच्थे । धनी, गरिब, ठूलो जात, सानो जातलगायत सामाजिक परम्पराले विभाजित बारपाक अहिले त्यो सोचाई र मानसिकताबाट धेरै पर आइसकेको छ ।’
उनका अनुसार अहिले मानिसको मूल्याकंन उसले बनाएको भूकम्प प्रतिरोधात्मक घर र संरचनाले हुन्छ ।
‘पर्यटक पनि घटे’
पहिले बारपाकलाई पर्यटकीय गन्तब्य मानिन्थ्यो । भूकम्पपछि भने पर्यटकको संख्यामा उल्लेखनीय कमी आएको स्थानियवासी बताउँछन् । नयाँ नयाँ बनेका घर र संरचनाले प्राचीन बारपाकलाई विस्थापित गरेको बिक बताउँछन् । ‘परम्परा, घरको डिजाइन, माहोलमा निकै परिवर्तन आएको छ । पहिले गोठालादेखि सबैको घर एकैनासको हुन्थ्यो । त्यसमा अहिले फरकपन आएको छ । अहिले आ–आफ्नो हैसियतले सानो ठूलो बन्यो । घलेले पनि यो कुरा महसुस गरेकी छन् । उनले भनिन्, ‘७–८ वर्षसम्म पर्यटकको लाइन लाग्ने ठाँउ अहिले ठप्पै छ ।’
हुनेखानेका ठूला घर बने । गरिबका टहराहरु बने । तर पनि बारपाक फेरि उभिएको छ । भूकम्पले दिएर गएको गहिरो चोट बाबजुद बारपाक र लाप्राकले देखाएको अदम्य साहस उदाहरणीय छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६