सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद उदित राज विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले उनलाई बुधबार आयोजित एक कार्यक्रमबीच आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।
उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेखेका छन्, आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु ।
कांग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ । दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ ।
दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गरेका थिए । आफूलाई पार्टीले उम्मेदवार नबनाएमा आफूले पार्टी परित्याग गर्ने उहाँले यसअघि नै चेतावनी दिँदै आएका थिए ।
यसअघि भाजपाबाट उम्मेदवार बन्नुभन्दा केही समयअगाडि उहाँले आफ्नो पार्टी भारतीय न्यायिक पार्टीलाई भाजपामा विलय गराएका थिए ।
भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ । सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६