बैंग्लोर : इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ ।
प्लेअफमा पुग्नका लागि सबै खेलमा जितसहित अन्य टिमको समेत नतिजामा भर पर्नुपर्ने अवस्थामा रहेको बैंग्लोरले यो जितसँगै अघिल्लो चरण प्रवेशको ढोका खुला नै राख्न सफल भएको छ ।
११ मध्ये ७ खेलमा हार भोगेको बैंग्लोर अब एक खेलमा पनि पराजित भए पहिलो चरणबाटै बाहिरिनेछ । पञ्जाबविरुद्धको महत्वपूर्ण जितमा दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलियर्सले विस्फोटक ब्याटिङ गरे ।
टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले डिभिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
डिभिलियर्सले ४४ बलमा ७ छक्कासहित अविजित ८२ रनको योगदान गरे भने पार्थिव पटेलले २४ बलमा ४३ र मर्कुस स्टोइनिसले ४६ रन बनाए ।
पञ्जाबका बलरमा मोहम्मद सामी सर्वाधिक महँगा साबित भए । उनले चार ओभर बलिङ गर्दै एक विकेट लिएर ५३ रन दिए । अर्का बलर हार्डुस भिल्जोनले पनि चार ओभरमा ५१ रन दिए ।
जितका लागि २०३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सक्यो ।
पञ्जाबका लागि क्रिस गेल र केएल राहुलले राम्रो सुरुवात गरे पनि ३.२ ओभरमा व्यक्तिगत २३ रनमा गेल आउट भए । त्यतिबेला पञ्जाबले ४२ रन जोडेको थियो ।
त्यसपछि ब्याटिङमा आएका मयंक अग्रवालले ३५ रन बनाए भने राहुलले ४२ रनको योगदान गरे । निकोलस पुरनले ४६ र डेविड मिलरले २४ रन जोडे । बैंग्लोरका लागि उमेश यादवले ३, नवदिप सैनीले २ र स्टोइनिस र मोइन अलीले एक एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६