काठमाडौं : पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, सुन्दरीचोकको पूर्वी भाग, योगनरेन्द्र मल्लको शालिक र भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै बहादुर शाहको बैठक भवन, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपको काम पनि सम्पन्न भइसकेको छ । निर्माणाधीन हरिशङ्कर र चार नारायण मन्दिरको पनि पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । यी दुई मन्दिरको निर्माण आगामी वर्षसम्म सम्पन्न हुनेछ ।
काठमाडौँ भ्याली प्रिजभर्शन ट्रष्ट(केभिपिटी)ले निर्माण सम्पन्न भइसकेका नौ र निर्माणाधीन दुई गरेर यहाँका ११ स्मारक पुनःनिर्माणको जिम्मेवारी लिएको थियो । ट्रष्ट(कोष)ले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको पुनःनिर्माणमा समन्वय गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय बताउँदै आएको छ । व्यापारीका आराध्य देवता भीमसेन मन्दिर र विसं १९९० को भूकम्पले क्षतिग्रस्त भाइदेगु मन्दिर स्थानीयवासीको पहलमा निर्माण शुरु भएको छ । भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनको अध्यक्षतामा शुरु भएको हो । भाइदेगु एक तला कम गरेर निर्माण भएको थियो । अहिले मन्दिरलाई पुरानै स्वरुपमा फर्काउन स्थानीयवासी लागेका छन् ।
दरवार क्षेत्रमा नै रहेको राधाकृष्ण मन्दिर र कुम्भेश्वर मन्दिर गुठी संस्थानले ठेकेदारमार्फत निर्माण शुरु गरेको हो । दुवै मन्दिर निर्माणका लागि ठेक्का सम्झौता अवधि सकिँदा समेत निर्माण सकिएको छैन । साविक बुङ्गमती गाविसस्थित रातो मछिन्द्रनाथको मन्दिर पनि पटक पटक अवधि थप हुँदा समेत सम्पन्न भएको छैन । मन्दिर निर्माणमा भइरहेको ढिलाइमा सङ्घीय संसद्को समितिमा समेत विषय उठान भइरहेको छ । दुई वर्षको ठेक्का अवधि सकिएर थप भएको छ महिना सकिनै लाग्दा भौतिक प्रगति ३५ प्रतिशत मात्रै रहेको महानगरपालिका र पुरातत्व विभागले बताउँदै आएका छन् ।
यहाँस्थित भीमसेन मन्दिर, अदालत भवन र हिरण्यवर्ण महाविहारको पुनःनिर्माण कसले गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । भूकम्पलगत्तै भीमसेन मन्दिर, अदालत र महाविहारको पुनःनिर्माणमा भारत सरकारले आर्थिक सहयोग गर्ने बताएको थियो । दूतावासले चासो नदेखाएपछि भीमसेन मन्दिर निर्माण गर्न भने स्थानीयवासी नै अग्रसर भएका छन् । तलेजु मन्दिर निर्माणका लागि जापान सरकारले रु १२ करोड नेपाल सरकारलाई दिइसकेको पाटन स्मारक तथा दरवार हेरचाह कार्यालयले जनाएको छ । गुठी संस्थानले यहाँको क्षतिको अनुमान गर्न ठेक्का आह्वान गरे पनि महानगरपालिकाले रोकेको प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने , विभागले ठेक्कामार्फत गर्न थाले पनि महानगरपालिकाले उपभोक्ता समितिबाट हुनुपर्ने बताएको छ ।
भूकम्पका समयमा क्षतिग्रस्त सम्पदामध्ये सरकारले गरेका पुनःनिर्माण सुस्त र गैरसरकारी वा समुदायले गरेका पुनःनिर्माणले गति लिएको छ । यी सम्पदाजस्तै पाटनका विभिन्न स्थानमा छरिएका स्मारकको पुनःनिर्माण स्थानीयवासीले सोचेअनुसार हुन सकेको छैन । रातो मछिन्द्रनाथको पानेजु (पुजारी) सङ्घका अध्यक्ष यज्ञराज शाक्यले धार्मिक स्मारकको पुनःनिर्माण समयमा नहुँदा स्थानीयवासीको मन दुख्ने बताए। निर्माणमा हुने ढिलाइका कारण त्यहाँको मूर्तिलगायत सामग्री सुरक्षाको चुनौती हुन्छ । उनले भने , रातो मछिन्द्रनाथ लामो समयदेखि टहरामा हुँदा हामीलाई सुरक्षित गराउन गाह्रो भइरहेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सरकारले ठेकेदारमार्फत गरेका काम ढिलो र कम गुणस्तरको हुने गरेको बताए । सडक, पुल वा घर बनाउने ठेकेदारले मन्दिरलगायत सम्पदा बनाउँदा समस्या आइरहेको उनले बताए । महानगरपालिकाभित्रका स्मारक सकेसम्म स्थानीयवासीको सहभागितामा निर्माण गर्ने योजना रहेको उहाँले बताउँदै उनले भने , स्थानीयवासीको आस्था जोडिएको सम्पदालाई उनीहरुकै सहभागितामा बनाउँदा राम्रो बन्छ ।
महानगरपालिकामा केभिपिटीले गरेको काम सञ्तोषजनक रहेको स्थानीय र सङ्घीय सरकार दुवैले बताउँदै आएका छन् । कोषसँग दक्ष प्राविधिक र पर्याप्त जनशक्ति हुनाले समयमा काम भएको हो । भूकम्पभन्दा पहिलेदेखि नै कोषले यस क्षेत्रमा पुनःनिर्माण गर्दै आएको थियो । अहिले स्थानीयवासीको सहभागितामा निर्माण भइरहेको भाइदेगु र भीमसेन मन्दिरमा पनि प्राविधिक सहयोग कोषको नै छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले यस क्षेत्रका ८० प्रतिशत पुनःनिर्माण भएको बताए । उनका अनुसार दरबार क्षेत्रमा पुनःनिर्माण सन्तोषजनक भए पनि अन्यत्रको सन्तोषजनक छैन । सार्वजनिक खरीद ऐनमा सरकारी लगानीमा हुने निर्माण सबैभन्दा सस्तो गर्नेलाई ठेक्कामार्फत दिइने व्यवस्थाका कारण ढिलाइ भइरहेको उनले बताए । ठेकेदारलाई त्यस सम्पदाको महत्व जानकारी नहुँदा दक्ष जनशक्ति काममा नलगाउने गरेको पाइएको उहाँको अनुभव छ । । उनले भने , त्यसैले पनि हामीले सकेसम्म स्थानीयवासी समेटेर नै पुनःनिर्माण गर्नुपर्छ भनेर सङ्घलाई भनिरहेका छौँ ।
पाटन सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले सरकारले एकै पटकमा धेरे सम्पदाको काम गर्ने हुँदा सूक्ष्म रुपमा हेर्न नसक्ने बताए । उनका अनुसार गैरसरकारी संस्थासँग कामको जिम्मेवारी कम हुँदा एउटालाई धेरै समय दिन सक्ने भए पनि सरकारले गर्नुपर्ने जिम्मेवारी धेरै र जनशक्ति कम छ । रासस
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६