काठमाडौं : कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेपछि लिएको नारा हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । सरकार सञ्चालनको पहिलो वर्ष संघीयतादेखि संरचनागत अवस्था सुधार्नमै बित्यो । यसबीचमा धेरै कानुन बनाउनेदेखि संसोधन गर्नेसम्मको काममा व्यस्त भएको स्पष्टीकरण प्रधानमन्त्री केपी शर्मा ओलीले दिदै दिइरहेका छन् ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम वैशाख तेस्राे साता ल्याउने प्रधानमन्त्री कार्यालय स्रोतले अनौपचारिक घोषणा गरेको छ । संगै १५ औं पञ्चवर्षीय योजनाको ड्राफ्ट पनि आएको छ । त्यस्तै २५ वर्षे दीर्घकालीन सोचको ढाचा पनि तयार पारिएको राष्ट्रिय योजना आयोगका सूचना अधिकृत शिवराजन पौडेलले जानकारी दिए । ४१० पेज लामो पञ्चवर्षीय योजना तथा तालिका २.१ मा दीर्घकालीन सोचका प्रमुख लक्ष्यहरु राखिएको छ ।
जसमा चालु आर्थिक वर्षमा भएको आर्थिक वृद्धिदर (औषत) ५.९ (आव २०७४/७५) बाट बढेर आर्थिक वर्ष २१००/०१ मा १०.५ पुग्ने अनुमान गरिएको छ । २५ वर्षे दीर्घकालीन परिमाणात्मक तथ्य हेर्दा यो गन्तव्यमा पुग्नु त्यती गाह्रो र साह्रो दुवै होइन । त्यस्तै कुल ग्रार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १४.८ बाट बढेर ३०, सेवा क्षेत्रको योगदान ५७.६ बाट बढेर ६१, प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार १२ देखि बढेर १२ हजार एक सय अमेरिकी डलर पुग्ने आकलन गरिएको छ ।
त्यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) अहिले १८.७ प्रतिशत छ । जुन २५ वर्षपछि नेपालमा गरिबी शून्यमा झार्ने लक्ष्य राष्ट्रिय योजना आयोगले लिएको छ ।
बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ बाट घटेर ५ प्रतिशतमा झार्ने, श्रमशक्ति सहभागिता दर (१५ वर्ष माथि) ३८.५ बाट बढेर ७२, बेरोगजारी दर ११.४ बाट घटेर ३ प्रतिशतमा झार्ने बताइएको छ । त्यस्तै रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६.५ बाट बढाएर ७०, जलविद्युत तथा नविकरणीय उर्जा उत्पादन (जडित क्षमता) एक हजार ७४ बाट बढाएर ४० हजार मेगावाट पुर्याउने, विद्युतमा पहुँच प्राप्त परिवार ९०.७ बाट शत प्रतिशत पुर्याउने, प्रतिव्यक्ति विद्युत उपभोग १९८ बाट बढाएर ३५ सय किलोवाट प्रति घण्टा पुर्याउने लक्ष्य छ ।
त्यसैगरी, ३० मिनेटसम्मको दुरीमा यातायात पहुँच भएको परिवार ७८.९ बाट बढाएर शत प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ६९७९ बाट बढाएर ३३ हजार पुर्याउने, द्रुत लोकमार्ग शून्यबाट दुई हजार, रेलमार्ग ४२ किमीबाट २२ सय किलोमिटर पुर्याउने, इन्टरनेट प्रयोगकर्ता (कुल जनसंख्यामा) ५५.४ बाट बढाएर शत प्रतिशत, उपेक्षित आयु (जन्म हुँदाको) ६९.७ बाट ८० वर्ष, मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) २३९ बाट २० मा झार्ने, पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३९ बाट घटाएर ८ मा झार्ने, ५ वर्ष मुनिका कम तौल भएका बालबालिका २७ बाट झारेर २ तथा साक्षरता दर (१५ वर्ष माथि) ५८ बढाएर ९६ पुर्याउने लक्ष्य २५ वर्षे रणनीतिमा समेटिएको छ ।
त्यसैगरी युवा साक्षरता दर (१५–२४ वर्ष) ८५ बाट बढाएर शत प्रतिशत पुर्याउने, माध्यिामिक तह (९–१२) मा खुद भर्नादर ४३.९ बाट ९५ पुर्याउने, पाँच वर्ष मुनिका जन्मदर्ता ५६ बाट बढाएर शत प्रतिशत पुर्याउने जनाइएको छ । त्यस्तै मानव विकास सूचकांक ०.५७४ बाट बढाएर ०.७६० पुर्याउने तथा लैंगिक विकास सूचकांक ०.९२५ बाट १ प्रतिशतमा पुग्ने जनाईएको छ । त्यसैगरी दीर्घकालीन सोचको मार्गचित्र र रणनीति, २५ वर्षमा नेपाल उच्च आय भएको मुलुकको स्तरको स्तरमा पुग्ने लक्ष्य र अन्य देशहरुको विकासको अनुभवका आहधारमा पनि प्रारम्भिक अनुमानहरु पनि गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६