१९ दिन लामो जनआन्दोलनको आँधीबेहरीले देशमा लोकतन्त्र स्थापना भएको पनि १२ वर्ष भएको छ । देश नबनेको राजतन्त्रका कारणले हो । राजा नाम गरेको सेतो हात्ती पाल्नु परेकाले देश तन्नम भएको हो । गरिबका दिन नबलेका हुन् । युवाले अवसर नपाएका हुन् । जे जे समस्या थिए देशमा,ति सबका सबको कारण राजतन्त्र हो । यसलाई फ्याँकेपछि उज्यालै उज्यालो हुन्छ । यस्तै मनोभावनाले उद्धेलित भएका युवाहरु चैतको तातो घाममा देशभरबाटै राजतन्त्रका विरुद्ध शिरमा कात्रो बाँधेर होमिए । धेरैले बलिदान दिए । कति घाइते भए । पक्राउ परे,जेल गए । अन्ततः आन्दोलन सफल भयो । देशमा लोकतन्त्र स्थापना भयो । त्यसबाट अघि बढेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संविधान बनायौं । राजतन्त्रात्मक व्यवस्था गयो, गणतन्त्र आयो ।
व्यवस्था बदलियो : जनता दुब्लाउँदै, नेता मोटाउँदै
नेपाली समाजमा अंक १२ लाई अर्थपुर्ण मानिन्छ । भनिन्छ,१२ वर्षमा त खोलो पनि फर्कन्छ । तर, लोकतन्त्र आएको १२ वर्षसम्म पनि जनताको मुहारमा खुशी फर्किएन । हातमा डिग्रिको सर्टिफिकेट भएपनि अवसरका लागि विदेशीनेहरुको लाइन घटेन । थाप्लोबाट एउटा भरियाको नाम्लो छुटेन । पैसा नभएर उपचार गर्न नसकेपछि अनाहकमा ज्यान गुमाउनुपर्ने घटना रोकिएन । एउटा गरिब किसान ऋणको भारीले थिचिएर थला परेको छ । एउटा युवक रोजगारी नपाएर ५० डिग्रिको तापक्रममा खाडीको बाटो तताइरहेको छ । निर्मला पन्तका हत्याराहरु खुल्लमखुल्ला हिँडिरहेका छन् । बोक्सीको आरोपमा अझै ढुँगाले हान्न छोडिएको छैन । सामाजिक कुरिति उस्तै छ । लोकतन्त्र स्थापनापछि बदलियो के त ? भुइँमान्छेका मनमा यहि प्रश्नले डेरा जमाएको छ । उसका अघिल्तिर भुइँमान्छेका कथाहरु उस्तै छन् । बस् बदलिएका छन् त आफैसँग विगतमा गाँस र बास माग्ने केही थान मान्छेहरुका कथा मात्र । चप्पल पड्काउँदै शहर छिरेका केही मान्छेहरु गगनचुम्बी महलका मालिक भएका छन् । तीनकै नाममा करोडौं ब्यांक ब्यालेन्स थुप्रिएका छन् । उनकै आसेपासे, आफन्तले अवसरको तर मारिरहेका छन् । सपनादेखि सपनासम्मको उडन्ते यात्रामा जनतालाई उडाइदिएर आफ्नो स्वार्थसिद्धिमा लिप्त छ हिजोको परिवर्तनको नेतृत्वको बाहक ।
बस् जनता निराश छ । महंगी सगरमाथा चढेको छ । अभाव उस्तै छ । शिक्षा,स्वास्थ्य जहीँतहीँ माफियाको राज छ । जनतामाथी शोषण जहीँतहीँ छ । कतै सत्ताले चुसेको छ । कतै तीनका मतियार माफियाहरले चुसेका छन् । जनता चुसेर केही थान नेता र माफियाहरु मोटाएका छन् । जनता झन् झन् ख्याउँटे हुँदै गएको छ । जनताको शासन भनिने लोकतन्त्रमा जनता ख्याउँटे हुने हो भने त्यो कस्तो लोकतन्त्र ? ख्याउँटे जनताको बलमा कति दिन टिक्न सक्छ त्यस्तो लोकतन्त्र ? १२ वर्षमा यही प्रश्न जब्बर बनेको छ । देशमा ब्यवस्था परिवर्तन भयोे तर जनताको अबस्थामा परिवर्तन भएन । जनताको होईन नेताहरुको जिबनमा मात्र समृद्धि ल्याउने लोकतन्त्र नाम मात्रको लोकतन्त्र हो । त्यस्तो तन्त्रको आयु लामो हुँदैन ।
एउटा राजा त फालियो, छोटे राजा जन्मिए
लोकतन्त्र यति छिटै विकृत हुनु दुखद् कुरा हो । एउटा सरकार थियो अहिले ७५३ वटा स्थानीय सरकार र ७ वटा प्रदेश सरकार छन् । सुविधाहरु जनताको दैलोमा पुर्याउने भनिएको छ । सुशासनको कुरा चर्को गरियो । व्यवहार ठिक उल्टो छ । अहिले पनि सरकारी अड्डा सेवाग्राहीमैत्री छैनन् । सडकका खाल्डाखुल्डी उस्तै छन् । खानेपानीको अभाव घटेको छैन । गुणस्तरीय स्वास्थ्य, शिक्षा सेवा गफको विषय मात्र बनेको छ, अनुभव गर्न सकिएको छैन । एउटा दुर्गमको गाउँ सिंहदरबारको दुरी अझै घटेको छैन । प्रदेश सरकार र स्थानीय सरकार नागरिक भन्दा माफिया र तस्करमैत्री छ । सायद त्यसैले होला नागरिकहरुमा चरम निराशा छ । स्थानीय सरकार र प्रदेश सरकारका नाममा निर्वाचित जनप्रतिनिधि जनताको सेवक बन्न नसक्दा उनीहरुलाई कतिपयले ‘छोटे’ राजाको संज्ञा समेत दिन थालेका छन् । नारायणहिटीमा रहेको एउटा राजा फ्याँकेर सयौं छोटे राजाहरु जन्माउने अभिप्राय थिएन मानिसहरुले लोकतन्त्रको स्थापनाको लडाई लड्दा । जनतामा निराशा आउनु कुनै पनि व्यवस्थाका लागि खतराको संकेत हो । यसतर्फ सत्ता सञ्चालन गर्नेहरु बढी जिम्मेवार हुनुपर्छ । त्यसतर्फ ध्यान दिनुपर्छ ।
अवसर नगुमाऔं
०७ सालको क्रान्तिदेखि ०४६ सालको जनआन्दोलन, ०६२/६३को जनआन्दोलन २सम्म आइपुग्दा देशले धेरै कष्ट झेलिसकेको छ । जनताका छोरा छोरस्को हातमा सत्ता छ । राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु एउटा सामान्य वर्गबाट आउका मानिसहरु छन् । उनीहरुले आफ्नो वर्ग भुलेर हिजोकै राजा महाराजाको शैली नक्कल गर्नुहुँदैन । देश निर्माणका लागि अहिले राम्रो अवसर छ । एउटै पार्टीलाई जनताले बलियो मत दिएका छन् । धेरै स्थानीय तह र प्रदेश सरकार पनि एउटै पार्टीको छ । एउटा पार्टीको बलियो उपस्थिती नहुँदा अस्थिर सरकार बन्यो । अस्थिर सरकारका कारण विकास,निर्माण भएन भनेर ६ दशक कटाइयो । अहिले त्यसो भन्ने छुट छैन । इतिहासले केही गर्ने अवसर सँधै दिँदैन । अहिले अवसर आएको छ । यो अवसर गुमाउनुहुदैन । यो व्यवस्था पनि सफल भएन भने देश अनिश्चयको अँध्यारो सुरुङमा फस्नेछ । त्यस्तो अवस्था आउन नदिन आज सबैले जिम्मेवार बन्नुपर्छ । सत्तारुढ दल,प्रतिपक्षी दल,नागरिक समाज, जनता सबैले आआफ्नो दायित्व इमान्दारीपूर्वक कार्यान्वयन गरौं । देश र देशहितलाई केन्द्रमा राखौं । व्यक्तिगत स्वार्थ,दलीय स्वार्थ,क्षत्रीय,जातीय स्वार्थ त्यागौं । प्रकृतिको अनुपम उपहार नेपाल देश नबन्नुपर्ने कुनै कारण छैन । यो देश संसारकै आकर्षक देश बन्न सक्छ,बनाउन सकिन्छ । त्यसका लागि लोकतन्त्र दिवसको अवसरमा सबैले प्रण गरौं । व्यवहारमा लागु गरौं । लोकतन्त्रका लागि शहिद भएकाहरुकाप्रति त्यसो गर्नु सच्चा सम्मान हुनेछ । दिवसका नाममा उत्सव मनाउने कुराले मात्र देश बन्न सक्दैन ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६