बुटवल:रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ मा बँदेल मार्नका लागि थापिएको धरापमा परी मृत्यु भएको छ । भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको हो ।
बैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको थियो । बँदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको प्रहरीले जनाएको छ ।
स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो । प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्नेहरुलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६