काठमाडौं : आफैँमा सुन्दर वस्तु हो फूल । फूलसँगको सामीप्य कसलाई पो मनपर्दैन र ? अर्थात् फूल मन नपराउने मानिस भेट्न गाह्रै पर्छ ।
देव कार्य होस् या पितृ कार्य, अनिवार्य रूपमा फूलको प्रयोग हुन्छ । घरको कौसीमा गमलामा पनि फूल रोप्ने धेरै मानिसको सोख देखिन्छ । केही वर्षअघिसम्म सौन्दर्य र सजावटका लागि गमलामा रोपिँदै आएको फूलको अहिले व्यावसायिक खेती गरिन थालेको छ ।
फूलको व्यापार पछिल्लो समय राम्रै देखिन्छ । पुष्प व्यवसाय धेरै मानिसहरूको रोजाइको विषय पनि बन्न थालको छ अहिले । सुरुवातमा थोरै लगानी गर्दा हुने र यसलाई निरन्तरता दिँदा राम्रै आम्दानी हुने भएकाले फूल खेतीप्रति मानिसहरूको आकर्षण बढ्न थालेको इभर ग्रीन नर्सरीका सञ्चालक सीताराम लामिछाने बताउँछन् ।
फूल खेतीले बजार राम्रो पाउन थालेकाले कामका लागि विदेश जानुभन्दा युवाहरूलाई यही व्यवासायमा लाग्न व्यवायीहरूले सुझाव दिँदै आएका छन् ।
विगत १५ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका लामिछानेले बुबाले सञ्चालन गरिरहेको नर्सरीले राम्रै आम्दानी गर्न थालेपछि आफूले पत्रकारिता छाडेर यही व्यवसायमा हात हालेको सुनाए ।
विगत २५ वर्षदेखि पुष्प व्यवसायमा संलग्न खड्का नर्सरीकी सञ्चालक राधिका खड्का पनि युवाहरूलाई यसै व्यवसायमा संलग्न हुन आग्रह गर्छिन् ।
मनग्य आम्दानी हुन थालेको पुष्प व्यवसायभित्र समस्याका चाङ पनि उत्तिकै छन् । राजधानीमा बसेर नर्सरी सञ्चालन गरिरहेका व्यवसायीहरू आफूहरूलाई जग्गा र पानीको समस्या रहेको बताउँछन् ।
उता, पुष्प व्यवसायमा बजार व्यवस्थापन पनि समस्याको रूपमा रहेको लामिछानेको भनाइ छ । तथापि, पहिलेको अनुपातमा केही सहजता थपिएको उनको भनाइ छ ।
‘पुष्प व्यवसायबाट आम्दानी नहुने होइन, भएकै छ तर यहाँभित्र पनि त समस्याका चाङ नै छन्’, विगत सात वर्षदेखि जोरपाटीमा नर्सरी सञ्चालन गर्दै आएकी कमला राई भन्छिन्, ‘राजधानीमा सबैको आफ्नो जग्गा हुँदैन । व्यवसाय गर्नका लागि जग्गा भाडामा लिनुपर्ने हुन्छ । एक त जग्गा भाडामा पाउन नै मुस्किल छ । अर्कोतर्फ महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । पानीको समस्या पनि छ ।’
नर्सरीभन्दा अघि दुबो खेती गर्दा छ रोपनी जग्गा भाडामा लिएको र जग्गा महँगो हुँदै गएपछि अहिले पौने दुई रोपनी जग्गामा व्यवसाय गर्दै आएको उनले दुखेसो गरिन् ।
त्यसैगरी काठमाडौंको बूढानीलकण्ठमा रहेको दीक्षा नर्सरीका सञ्चालक ताराबहादुर थापा उत्पादनका लागि प्रशस्त ठाउँ नभएको बताउँछन् । उनी भन्छन्, ‘लाखौँ लगानी गर्दा उठाउन वर्ष, दुई वर्ष लाग्ने अवस्था पनि छ । सधैँ सोचेजस्तो व्यापार हुँदैन ।’ सहज र सस्तो जग्गा भए अझै व्यवसायलाई विस्तृत बनाउने सोच छ उनको ।
पुष्प व्यवसायीहरूले लामो समयदेखि सरकारको खाली भएको जमिन आफूहरूलाई दिलाउन आग्रह गर्दै आएका छन् । त्यस्तै, पानीको व्यवस्था हुनुपर्ने तथा व्यवसायीलाई उत्साहित पार्ने खालको कार्यक्रम ल्याउन आग्रह पनि गर्दै आएका छन् ।
प्रयोगमा नआएको जग्गा सहज रूपमा आफूहरूलाई दिइएमा पुष्प व्यवसाय अझै फस्टाउने र स्वदेशमै फूल उत्पादन हुने अवस्थाको सिर्जना गर्न सकिने व्यवसायीहरूले बताउँदै आइरहेका छन् । सरकारले छिट्टै नै समस्या संबोधन गर्नुपर्ने उनीहरूको माग छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६