काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको पुनर्निर्माण कार्य विश्वका लागि अनुकरणीय र नमुनायोग्य भएको बताएका छन् । पुनर्निर्माणमा भएको प्रगतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक संक्रमण, संविधान निर्माण प्रक्रिया, नाकाबन्दी, भूकम्पको आठ महिनापछि प्राधिकरणको स्थापना, प्राधिकरणको नेतृत्वमा भइरहेको परिवर्तनका बाबजुद पनि उल्लेख्य प्रगति भएको दाबी गरे ।
पुनर्निर्माणमा हासिल गरेको परिणामले प्राधिकरणले लिएको अवधारणा र दृष्टिकोण सही छ भन्ने पुष्टि भएको ज्ञवालीको भनाइ थियो । उनले निजी आवास, विद्यालय, सम्पदा, स्वास्थ्य संस्था, सडक, खानेपानीलगायतको संरचना निर्माणमा प्रगति उल्लेख भएको तथ्यांक प्रस्तुत गरे ।
‘निजी आवासको पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको छ । अनुदान सम्झौता गरेका सात लाख ६२ हजार ३०७ घरपरिवारमध्ये छ लाख १२ हजार ९३५ घरपरिवार पुनर्निर्माणको प्रक्रियामा हुनुहुन्छ, जसमध्ये ५० प्रतिशत अर्थात् तीन लाख ८२ हजार २७७ ले घर सम्पन्न गरेर सरिसक्नुभएको छ भने ३० प्रतिशत घर पुनर्निर्माणको प्रक्रियामा हुनुहुन्छ’, उनले भने । अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँग समन्वय गरिरहेको ज्ञवालीले बताए ।
कति भयो प्रगति ?
पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी ज्ञवालीले भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालयमध्ये निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत उपलब्धि हासिल भएको बताए । तीमध्ये चार हजार ४७६ विद्यालयको पुनर्निर्माण सकिएको र एक हजार ७७२ विद्यालय पुनर्निर्माणको चरणमा छन् । स्वास्थ्य संस्थाको पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणको दाबी छ ।
पुरातातत्त्विक सम्पदामा ५९ प्रतिशत उपलब्धि हासिल भएको छ, जसमा २२४ पुनर्निर्माण सम्पन्न भइसकेको छ । २२१ अर्थात् २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । ‘कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्धलगायत मुद्दाले सम्पदा पुनर्निर्माणको काम सबैभन्दा जटिल र धेरै समय लाग्ने हुन्छ , उनले भने, तर सो क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्दै रानीपोखरी, धरहरा, काष्ठमाण्डपलगायत उपत्यकाभित्रका सातवटै विश्व सम्पदाको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ ।’
त्यस्तै, ज्ञवालीले भूकम्पले क्षति पुर्याएका गुम्बा पुनर्निर्माणको काम पनि अब अघि बढ्ने बताए । भूकम्पबाट क्षति भएका सडक, खानेपानीलगायत संरचनाको पुनर्निर्माणको काम भइरहेको छ । ‘समग्रमा भन्दा भूकम्पछिको पुनर्निर्माण पछिल्लो समय द्रुत गतिमा अगाडि बढिरहेको छ । पुनर्निर्माण कार्यको प्रगतिप्रति अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ , उनले भने, दातृ निकायले प्रतिबद्धता गरेभन्दा थप रकम सहयोग गन थालेका छन् । हाम्रो पुनर्निर्माण विश्वका लागि अनुकरणीय र नमुनायोग्य बन्दै छ, जुन नेपालीका लागि गौरवको विषय हो ।’
पुनर्निर्माणको चुनौती : वित्तीय व्यवस्थापन
उनले पुनर्निर्माणमा सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापन भएको बताए । ‘पुनर्निर्माण र पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको थियो । त्यसमध्ये गत आर्थिक वर्षमा १८६ अर्ब कूल रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको छ’, ज्ञवालीले भने ।
उनले पुनर्निर्माण कार्य सम्पन्न गर्नका लागि थप ४२९ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । पुनर्निर्माणको काम वित्तीय व्यवस्थापनमा निर्भर रहेको बताउँदै उनले त्यसका लागि वित्तीय व्यवस्थापन गर्न अर्थ मन्त्रालय र दातृ निकायसँग छलफलमा जुटिरहेको पनि जानकारी दिए ।
त्यस्तै, संघीयता कार्यान्वयनका क्रममा पुनर्निर्माणमा अनुभवी कर्मचारीहरूलाई प्रदेश र स्थानीय तहमा खटाउनुपर्दा पुनर्निर्माणमा असर परिरहेको भन्दै त्यसको व्यवस्थापन प्राधिकरणका लागि चुनौती बनेको ज्ञवालीको भनाइ थियो । ‘भूकम्पले विनाश मात्र गरेन, अवसर र सम्भावनाहरू पनि ल्यायो । सुरक्षित भौतिक संरचनाहरूका साथै विभिन्न ठाउँहरूमा सुन्दर वस्तीहरू बनेका छन् । निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरूले जीविकोपार्जनका थप अवसरहरू समेत माग गर्नुभएको छ’, सीईओ ज्ञवालीले भने, ‘भूकम्प पीडितहरूलाई अवसरसँग जोड्ने र आर्थिक रूपमा रूपान्तरण गर्ने चुनौती पनि हाम्रा सामु छ । यसका लागि सहुलियत ऋणको व्यवस्था मिलाइएको छ भने आगामी वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।’
उनले केही नीतिगत समस्याहरूलाई हल गरेर शत प्रतिशत उपलब्धि हासिल गर्नु आफूहरूको दायित्व भएको पनि बताए ।
२०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएको थियो । यो वैशाख १२ गते भूकम्प गएको चार वर्ष पूरा हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६