काठमाडौं : सगरमाथा आरोहण गर्ने क्रममा मृत्युवरण गरेका आरोहीहरूको नाममा उनीहरूको स्मृति स्वरूप च्योर्तेनहरू निर्माण गरिएका छन् । सगरमाथामा आरोहण गर्दा मृत्यु भएको वार्षिकीको अवसरमा हरेकजसो मृतकका परिवारले यस्तो च्योर्तेन निर्माण गर्नु अनिवार्य जस्तै छ भने यो एउटा लहर नै चलेको छ ।
सगरमाथा क्षेत्र जाने आरोही तथा सहयोगीहरूका अनुसार सगरमाथाको आधार शिविर जाँदा मूलबाटोमा पर्ने थुक्ला पासमा विदेशी आरोहीहरूका नाममा यस्ता थुप्रै च्योर्तेनहरू निर्माण गरिएका छन् ।
स्थानीय क्षेत्रमा बुद्ध धर्मावलम्बी रहेकाले त्यस विश्वासका आधारमा यस्तो लहर चलेको हो । पर्यटन व्यवसायी सोनाम शेर्पाका अनुसार अहिले साना ठूला सयौँ च्योर्तेन बनेका छन् । सक्नेले पक्की र नसक्नेले सामान्य च्योर्तेन बनाएका छन् । सामान्य बनाएका च्योर्तेनहरू भत्किने गरे पनि पक्की भने वर्षाैं टिकिरहेका छन् ।
बुद्ध धर्मका अनुसार मृतकको नाममा यस्ता च्योर्तेनहरू निर्माण गर्दा मृत आत्माले शान्ति पाउने विश्वास गरिन्छ । निर्माण गरिएका च्योर्तेनहरूमा प्रायः जापानी आरोहीको नाममा छन् भने अन्य देशका नागरिकले पनि केही मात्रामा बनाएका छन् । जापानीहरू आफैँ पनि बुद्ध धर्मावलम्बी भएकाले पनि जापानी नागरिकहरूका नाममा बढी च्योर्तेन निर्माण भएको हुनसक्ने नाम्चेका व्यावसायी लामाकाजी शेर्पाले बताए ।
हिमाल आरोहण गर्दा कयौँ नेपाली आरोहीहरूले ज्यान गुमाएको भए पनि नेपाली आरोहीमा बाबुछिरी शेर्पाको नाममा मात्र च्योर्तेन निर्माण गरिएको छ । दुई पटकसम्म विश्व रेकर्ड कायम गर्न सफल शेर्पाको नाममा बाबुछिरी मेमोरियल ट्रष्टले च्योर्तेन निर्माण गरेको हो । नेपालीहरूको आर्थिक अवस्था नाजुक हुने र च्योर्तेन निर्माण गर्ने स्थल समुद्री सतहदेखि धेरै उचाइमा रहेकाले पनि असम्भव भएको पर्यटन व्यवसायीहरू बताउँछन् ।
विदेशीले सन् १९७० देखि मर्नेका नाममा च्योर्तेन बनाउन थालेपछि वर्षैपिच्छे च्योर्तेन बनाउने होड बढेको आरोहीहरू बताउँछन् ।
सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएकाको नाममा निर्माण गरिएको च्योर्तेनले त्यस ठाउँको शोभा बढाएको स्थानीय स्थानीयहरू बताउँछन् । नाम्गे शेर्पाका अनुसार एउटा नाङ्गो डाँडा मात्र भएको भए सुनसान हुन्थ्यो तर च्योर्तेन अनि यसको ध्वजापतकाले धेरै सुहाएको छ ।
नेपालमा बनाइएका च्योर्तेनहरू हेर्नका लागि नै मृतकका आफन्तहरू आउने गरेकाले यसले एक पटकका लागि मात्रै नभई शृंखलाबद्ध ढंगले पर्यटकलाई निम्त्याइरहेको स्थानीयहरू बताउँछन् ।
थुक्ला पासलाई स्मारकहरूकोे स्थान भनेर पनि चिनिने गरेको छ । च्योर्तेन निर्माण गर्दा मृतकले प्रायः मनपराउने, प्रयोग गरिरहने वस्तुहरू चिह्न स्वरूप हाल्ने गरिएको जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६