आमाले सोध्लिन् नि खै छोरा भन्लिन्
रज है खुले भन्दिए
बाबाले सोध्लान् नि खै छोरा भन्लान
रण जित्दै छन् भन्दिए
यो सबैको ओठमा झुण्डिने गीत हो । झलकमान गन्धर्वले गाएको यो गीत सदाबहार लाग्छ । झलकमान जस्तै कुनै दिन बम्बई र गोरखपुरका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी पिटेको त कतै पराई भूमिमा लड्दालड्दै गोर्खालीहरूले वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरू हिजोआज कम देखिन थालेका छन् ।
कोही राजा सवारी भएको, कोही आपतमा परेको, देशमा महामारीले धेरैको ज्यान गएको, भूकम्प, पहिरो र बाढी जस्ता विपत्तिले घरवारविहीन बनाएकाहरूको कहानीसँगै उत्प्रेरणात्मक गीत गाएर गाउँगाउँ घुम्ने गन्धर्वहरू अहिले गाउँमा भेटिन छाडेका छन् ।
देश विदेशमा घटेका घटनालाई सारङ्गीको मीठो अनि सुरिलो भाकामा गाउँबस्तीमा बाँड्दै हिँड्ने गन्धर्व दाइहरूको स्वर विस्तारै लोप हुँदै गएका हुन् । सारङ्गीको धूनमा घटनाक्रमहरूलाई सिलसिलेवर र कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सुन्नेहरूका आँखा रसाउँथे । गन्धर्व दाइहरूले उत्प्रेरणात्मक गीत गाउँदा कतिले तास खेल्न छाडे भने कतिले रक्सी खान छाडेका घटना पनि एकादेशकाे कथा जस्तै बन्न थालेका छन् ।
सूचना र सञ्चारको पुरानो माध्यमसमेत रहेको गन्धर्वको पेसा अहिले विस्थापित हुन पुगेको छ । रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेसालाई विस्थापित गराएको हो । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्व दाइको अभाव खड्किरहेका बेला पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीवनयापन गर्ने केही गन्धर्व परिवार भने अझै भेटिन्छन् ।
युवा पुस्तामा जातीय पेसाप्रतिको नैराश्य र वैदेशिक रोजगारको प्रतिस्पर्धाले पनि गन्धर्व पेसा संकटमा पर्दै गएको गन्धर्व संस्कृति कला संगठनका अध्यक्ष पुजन गन्धर्व बताउँछन् । गन्धर्वहरूको मुख्य पेसा अहिले संकटमा परेको छ भने पेसामा रहेकाहरूले पनि अन्य पेसालाई मुख्या पेसा बनाई यस पेसालाई सहायक पेसाको रूपमा लिएका छन् । प्रतिस्पर्धात्मक समय र आवश्यकताअनुसार अन्य रोजगारी, जागिर र व्यवसायमा लागेको अध्यक्ष गन्धर्वको भनाइ छ । उनका अनुसार समयअनुसार गाउँगाउँ घुम्ने गन्धर्वहरू युट्युव, कन्सर्ट, स्टेज र विभिन्न गायनमा आएका छन् तर पहिलेको दाँजोमा सारङ्गी रेट्दै आउने गन्धर्व पाउन छाडेकाले लोप भएर जाने चिन्ता छ ।
भेटिँदैन परम्परागत सारङ्गी
‘पोली खाने आन्द्रा छैन, सारङ्गीलाई ताँती’ यो उखानसँग सारङ्गीको परम्परागत निर्माण जोडिएको छ । सारङ्गीको वास्तविक आवाजमा जोडिएर बनेका परम्परागत सारङ्गीसँगै आवाजहरू नयाँ आधुनिक सारङ्गीले विस्थापित गरेको छ । प्रेमकुमार गन्धर्वका अनुसार श्रीखण्डको काठ, बाख्रा वा भेडाको ताँती, काठको मुर्रा, काठको चड्राउ र धनुमा पाइने घोडाको पुच्छरको सट्टा अहिले आधुनिक धातु र माछा मार्ने धाकको प्रयोग गरिएको गन्धर्वहरू बताउँछन् ।
दाङ, भोजपुर, तनहुँ, चितवन, कास्कीलगायत नेपालका ५६ जिल्लामा बसोबास गर्ने गन्धर्वहरूले पहिले अनिवार्य सारङ्गी सिक्थे, गाउँथे अनि विभिन्न सूचनाको स्रोत बनेर गाउँगाउँमा पुग्थे । तर पछिल्लो समय बनाउने र बजाउनेको संख्या न्यून भइरहेको हो ।
पेसाको संरक्षणका लागि सारङ्गीलगायत लोकबाजाहरूको संरक्षण गर्न आवश्यक भए पनि परम्परागत सारङ्गीसँगै बनाउनेसमेत काम भइरहेको हो ।
सारङ्गी काठको मुढा काटेर बनाइन्छ । सारङ्गीको बनाउँदा पनि कलात्मक बुट्टाहरू खोपिन्छ । राँबो र बसिला जस्ता हतियारले सारङ्गी खोप्नुपर्छ । पछिल्लो समय रेट्ने भन्दा बनाउने कम भएको गन्धर्वहरू बताउँछन् ।
युवा पुस्ताले सारङ्गीमा चासो नराखेकामा सुर्खेतका गोरे गन्धर्व चिन्तित छन् । उनका अनुसार आफ्नै सन्तानसँगै अरूका छोराछोरीहरू अन्य काममा लागेपछि बाजेबाबुले गाउने र गाउँ घुम्ने पेसामा चासो नहुँदा चिन्ता भएको हो । नयाँ पुस्तालाई सिकाउन चाहे पनि सिक्ने चाहना नभएको उनको भनाइ छ ।
सारङ्गीको सुरुवात
सारङ्गीको सुरुवात ‘सारेगम’ सुरु हुनुपूर्व भएको गन्धर्वहरूको दाबी छ । कुनै लिखित प्रमाण नभए पनि उनीहरूले बाजेबज्यूको पालादेखि सारङ्गीको लोककथा सुन्दै र भन्दै आएका छन् । लोककथामा भनिएको छ– ‘भगवान विष्णुले नारदमुनिलाई पृथ्वी लोकमा मानिसहरू के कस्ता छन्, हेरेर आऊ भनी पठाएका थिए । नारदमुनि आउँदा एक जना मानिसले काठ काट्दै रहेछ । त्यो काठचाहिँ श्रीखण्डको थियो । उनले त्यही काठको सारङ्गी बनाएछन् । त्यो बाजा सारङ्गीको स्वरूपमा नभए पनि सारङ्गी जस्तै बज्ने थियो । उनी गन्धर्व थिए । नारदमुनि त्यो खबर लिएर स्वर्ग गएछन् । ती गन्धर्व र अर्का अरबाजा बजाउने गन्धर्वबीच एक ठाउँमा बाजा बजाउने प्रतियोगिता भएछ । त्यो प्रतियोगितामा रातदिन बजाउँदा पनि सारङ्गी र अरबाजाको हारजीत भएन । सारङ्गी बजाउने ठाउँमा असंख्य चिलहरू आएछन् भने अरबाजा बजाउने ठाउँमा अनगिन्ती परेवाहरू आए । आकाश नै परेवा र चिलले ढाकेछ ।’
त्यो खबर नारदमुनिले स्वर्गमा लगेको बताइन्छ । उनीहरूको प्रतियोगितालाई मिलाउन नारदमुनि नै लागेको लोककथा छ । नारदमुनि आएर ‘तिमीहरू बराबरी हौ’ भनेर दुवैलाई स्वर्ग लगी दुवै बाजा बजाउने गन्धर्वलाई माता सरस्वतीसित मिलेर सही रूप बनाइदिएर सारङ्गीको रूप र स्वरले पूर्णता पाएको किंवदन्ती छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६