विराटनगर : चार दिनअघि मोरङको पथरीकी रिना बस्नेतको रहस्यमय तवरले हत्या गरिएपछि उनका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका ३ का ३७ वर्षीय नेपाललाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका त्रिवेणी चोकको साझा लाइनमा डेरा गरी बस्ने २९ वर्षीया रिनाको शव शनिबार बिहान आफ्नै डेराअगाडि फेला परेको थियो । निर्वस्त्र घोप्टो परेको अवस्थामा शव फेला परेपछि स्थानीय र आफन्तले उनको हत्या भएको बताउँदै आएका थिए ।
१४ वर्षीय छोरा साइमन बस्नेतसँग बस्दै आएकी रिना सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्थिन् । पथरीमा शुक्रबार आयोजना भएको एक सांगीतिक कार्यक्रममा आमा र छोरा सँगै गएर कार्यक्रम हेरेका थिए । सो बेला पटकपटक उनका प्रेमी भनिएका कमल नेपालले मोबाइलमा फोन गरेको छोराले बयान दिएका थिए ।
विभिन्न सञ्चारमाध्यममा छोरा साइमनले आफ्नी आमालाई कमल नेपालले फोन गरेको र सोही दिन पनि निरन्तर फोन गरेको जानकारी दिएका थिए । प्रहरीले पनि कल डिटेलका आधारमा नेपाललाई पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले रिना र कमलको केही सम्बन्ध देखिएका कारण प्रारम्भिक बयानका लागि पक्राउ गरेको आजको न्युजलाई बताए । उनले भने, ‘उनीहरूबीचमा केही सम्बन्ध देखिएको छ । मोबाइलमा कुराकानी पनि भएको देखिन्छ । अहिले अनुसन्धान गर्दै छौँ ।’
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६