राँझा : नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
उनले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिए । आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा पुग्नुभएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट रु एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताएृ । आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुग्नुभएको थियो । नेपालगञ्जमा बितेको छ महीनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिए । रासस