भद्रपुर : छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।
मेचीनगर–९ मा छ लाख २० हजार रुपैयाँको लागतमा निर्मित चार कोठे घर उनलाई सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किंदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुसीका आँसु झारिन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरिद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चार कोठे पक्की भवन बनाइएको छ ।
देवीमाया शारीरिक असक्त हुन् । उनको एउटा हात बिहेअघि नै करेन्ट लागेका कारण काटेर फाल्नुपरेको थियो । बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम उनी एउटै हातले गर्ने गर्छिन् ।
उक्त भवनमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारालगायतको व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताए ।
देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महिनाअघि स्थानीयबासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देशविदेशका नेपालीबाट स्वस्फूर्तः जुटेको सहयोगबाट घर निर्माण गर्नाका साथै आगामी दिन देवीमायाको जीवन निर्वाहका लािग रु पाँच लाख कोषमा राखिदिने योजना बनाइएको उनको भनाइ थियो ।
गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता शर्माले देवीको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताए । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीयवासी आफैले गरेर देखाइदिएको बताए । –रासस
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६