काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो एकवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा एक वर्षे प्रगतिविवरण सार्वजनिक गर्दै उनले आफुले कसैको चित्त दुखाउने गरी कार्यकाल नबिताएको दाबी गरे ।
महानिरिक्षक खनालले आफ्नो कार्यकाल नसकिएकाले आफ्नो कार्यकालमा भएका केही घटनाको अनुसन्धान टुंगोमा पुर्याउन लागि परेको बताए। कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको अनुसन्धानमा प्रहरी लागि परेको उनको भनाई थियो। महानिरिक्षक खनालले केही प्रहरीको गल्तीको कारण अनुसन्धान प्रभावित भएको स्विकार गरे । ‘आइजीको समय सकिएको छैन। बाँकी छ। निर्मला पन्तको विषयमा जसरी आएको छैन भनिएको छ। लागि परिरहेका छौं। केही गाह्रो पनि भयो। प्रहरीबाट कमजोरी भएकाले कारबाही पनि गर्यो। अपराधीले मुक्ति पाउनेछैन,’ उनले भने ।
त्यस्तै आइजीपी खनालले खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए । उनले सो समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही हुने पनि स्पष्ट पारे ।
प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बञ्जनविरुद्ध प्रमाण नपुगेको कारण कार्वाही गर्न नसकिएको पनि स्पष्ट पारे । उनले बञ्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कार्वाही हुने पनि बताए ।
खनालले आफ्नो एकवर्षे कार्यकालमा गुन्डागर्दी नियन्त्रण, शान्तिसुरक्षा कायम, अन्तरार्ष्ट्रिय स्तरमा प्रहरीको सम्बन्ध विकासलगायत काममा सफलता हात पारेको दाबी गरेका थिए।
यस्ता छन् आईजीपी खनालका १० प्रथामिकता
१. प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन
२.संगठित अपराध, जघघन्य अपराध, महिला तथा बालबालिकाको अमानवीय कार्यप्रति कानुनी कठोरता
३.विधिको शासन सुनिश्चितताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निर्माण
४.मानव अधिकारको प्रवद्र्वन तथा जोखिममा रहेका वर्गहरुलाई विशेष कानूनी संरक्षण
५.प्रहरी कर्मचारीहरुको व्यावसायिकता, पारदर्शिता र निष्ठामा उत्कृष्टता
६.नेपाल सरकारप्रति प्रतिबद्व एवं नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तारमा तीव्रता
७.सांगठनिक सुदृढीकरण, आन्तरिक शुद्विकरण र भ्रष्टाचारमाथि शून्य सहनशीलता
८.विशेष प्रशिक्षणद्वारा आत्मबलयुक्त, निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकास
९.प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सबलता र स्रोत साधनको चुस्त व्यवस्थापन
१०.प्रहरी कर्मचारीहरुको मनोबलमा उल्लेखनीय स्तोरन्नती र प्रहरी संगठनलाई ‘नमूना संगठन’ र ‘सुशासनको पहरेदार’ मा रुपान्तरण
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६