काठमाडौं: ‘पहिले देश अनि विदेश’ भन्ने नाराका साथ १३ र १४ वैशाखमा काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला हुने भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले सो मेला आयोजन गर्न लागेको हो । जसको मूल उद्देश्य पर्यटनबारे देशव्यापी जनचेतना फैलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको बताइएको छ ।
निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट हुन लागेको मेलालाई २ लाख ५० हजारले अवलोकन गर्ने आयोजक गन्तव्य नेपालको अनुमान छ । डोमेस्टिक टुरिजम मार्ट–२०१९ नाम दिइएको मेलामा पर्यटनसम्बद्ध २२५ व्यावसायिक संघसंस्था तथा व्यवसायीका स्टल रहनेछन् ।
मेलामा व्यापारिक मात्र नभई ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारीमूलक स्टल रहनेछन् । हस्तकला समग्री, र्याफ्टिङ, बन्जी जम्प, केबलकार, टुरिजम शैक्षिक कलेज, पर्यटन यातायात, प्याराग्लाइडिङ, सातै प्रदेशका विभिन्न समुदायका परिकारसहित ठाउँ–ठाउँका होटल–रेस्टुरेन्टका स्टल रहने आयोजक गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
मेलामा राष्ट्रिय कला–संस्कृतिको प्रदर्शनीसमेत हुनेछ । विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिने आयोजकले बताएको छ । साथमा, विभिन्न कलाकारका लोकदोहोरीलगायत सांस्कृतिक प्रस्तुति रहनेछन् । मेलाको उद्घाटन वैशाख १३ गते बिहान ११ बजे गर्ने कार्यक्रम छ । मेला अवलोकनकर्ताका लागि कुनै प्रवेश शुल्क लाग्नेछैन । सरकारको २०२० मा २० लाख पर्यटक भित्राउने योजनामा मेला सहयोगी हुने विश्वास लिएको गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी बताउँछन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६