काठमाडौं : केही वर्षअघिसम्म टेस्ट उत्तीर्ण गरेपछि दिइने एसलएलसीलाई फलामे ढोका अर्थात् ‘आइरन गेट’का रूपमा लिइन्थ्यो । विद्यार्थीहरूका लागि सो परीक्षा उत्तीर्ण गर्नु फलामको च्यूरा चपाउनु सरह भएर नै होला त्यसो भनिएको । तर अहिले उक्त आइरन गेटको नाम फेरेर एसईई भएको छ । सजिलोका लागि सी भनेर भन्ने गरिन्छ । धेरै विद्यार्थीले बिर्सिसकेको फलामे ढोका सोमबार पुन: धेरैलाई स्मरण गराइदिएका छन्, नेकपाका अध्यक्ष पुष्पमल दाहालले ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेकपाले प्रज्ञा भवन कमलादीमा भव्य कार्यक्रम आयोजना भयो । गत जेठ पहिलो साता एकता गर्ने भन्ने घोषणा भए पनि जिल्ला अध्यक्ष र सचिव तय गर्न नसकेको नेकपाले सोही अवसर पारेर ७७ जिल्लाकै अध्यक्ष र सचिव घोषणा गरियो । प्रज्ञा भवनको हल तालीले गुञ्जायमान भयो । के होला ? के होला ? भनिएको एकता शानदार रूपमा टुंगियो । उपस्थितको गड्गडाहट तालीले त्यसलाई अनुमोदन गर्यो ।
‘आइरन गेट’ फोरियो !
हुनत धेरैले असम्भव मानेको विषय थियो, तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता । बेलाबेलामा क्रमभंग गर्न सिपालु प्रचण्ड र आँटिला केपी ओलीले असम्भव ठानिएको एकतालाई आकार दिए । प्रचण्डले सोमबार जिल्ला नेतृत्व टुंगिएपछि आइरन गेट फोरिएको बताए । ‘फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको छ, फलामे ढोका फोरेर एकता अगाडि बढएका छौँ । जिल्ला कमिटीमै हाम्रो गाँठो परेको थियो । त्यो गाँठो फुक्यो’, प्रचण्डले यसो भनिरहँदा हल तालीले गुञ्जियो ।
लामो समयसम्म एकताको सांगठनिक स्वरूपलाई अन्तिम रूप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति भएको प्रचण्डको भनाइ थियो ।
उनले आइरन गेट फोरेको मात्र बताएनन्, अबको आठ महिनाभित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकेर एक वर्षभित्र पार्टीको महाधिवेशन गरिने उद्घोष पनि गरे । उनले महाधिवेशन महाबहसको एउटा भट्टीभित्र प्रवेश गर्ने महाअभियान पनि हुने बताए । ‘फोहोर मैला हामीभित्र पनि जम्मा भएको छ । यो फोहोर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन’, प्रचण्डले भने । तर हलबाट आधा घण्टामै नेकपाका प्रभावशाली नेता माधव नेपाल बाहिरिएपछि हलमा गाइँगुइँ चल्यो- कतै आइरन गेट अझै तोडिएको पो छैन कि ? सहभागीहरू खासखुस गर्दै थिए । जिल्ला अध्यक्ष भागवण्डा गर्दा ओली र प्रचण्ड मिलेर एकलौटी रूपमा गरेकोमा नेता नेपाल असन्तुष्ट रहेको अनुमानलाई उनको कार्यक्रममा छोटो बसाइले बल पुर्याएको छ ।
कोटप्रेमी नेकपा नेता
उसो त कम्युनिष्ट पार्टीले आफूलाई सर्वहाराको पार्टी बताउने गर्छ । सर्वहारा चिन्ने आधार उसको लवाइखुवाइ पनि हो । सामान्यतया मानिसले सर्वहारामध्येबाट सर्वहाराको नेता हुने र उसको लवाइखुृवाइ पनि सर्वहाराकै जस्तो हुने ठानिन्छ । तर प्रज्ञा भवनको पहिलो लहरमा देखिएका नेकपाका शीर्ष नेता हेर्दा सर्वहाराका नेताहरू जस्तो देखिन्नथ्यो ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड, नेताहरू झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोख्रेल, गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थाापा सबै कालो कोट-पाइन्टमा ठाँटिएका थिए । अध्यक्ष ओली र प्रचण्डको टोपी उस्तै थियो- कालो भादगाउँले टोपी । गौतम, खनाल र नेपाल ढाका टोपीमा थिए भने श्रेष्ठ र थापाको शिरमा भने टोपी थिएन । नेकपाका नेताहरू पछिल्लो समय सार्वजनिक मञ्चहरूमा बढी कोट-पाइन्टमा देखिँदै आएका छन् ।
आफूहरूलाई गरिब, सर्वहाराको नेता भन्दा खुसी हुने गर्छन् नेपालका कम्युनिष्ट नेताहरू । नेकपाका नेताहरू हेर्दा पहिला पहिला उनीहरूले ‘सुकिलामुकिला’ भनेर आरोप लाउने गरेकाहरूकै लवाइखवाइलाई माथ खुवाउने खालको हुन थालेको खासखुस पनि केही सहभागीहरूले गरे ।
जब नेपालको कुर्सीमा बसे खनाल
मञ्चमा केही रोचक दृश्य देखियो । नेकपाका तेस्रो वरीयताका नेता माधव नेपालका लागि राखिएको कुर्सीमा चौथो वरीयताका नेता झलनाथ खनाल बस्न पुगे । शीर्ष नेताहरू हेराहेर गर्न थाले । हुनत खनालभन्दा नेता नेपाल कार्यक्रममा ढिला आइपुगेकाले खनाल झुक्किएर सो कुर्सीमा बसेका पनि हुनसक्छन् । तर नेपाल जब मञ्चमा पुगे, आफ्नो लागि राखिएको कुर्सीमा खनाल बसेको देखेपछि केही अलमल देखिए । खनालले कुर्सी छाडेनन् । नेता नेपाल चौथो वरीयताको कुर्सीमा नै गएर बसे ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६