काठमाडौं : वैशाख ९ अर्थात् आज प्रज्ञाभवनमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस भव्य रूपमा मनाइरहेका थिए । सारा नेता तथा कार्यकर्ता आज दिनभर त्यहीँ थुप्रिएका थिए । सधैँ खचाखच हुने सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय आज भने सुनसान देखिन्थ्यो ।
पूर्वएमाले र पूर्वमाओवादी एकता भइसके पनि संसदीय दलका कार्यालय एक भइसकेको छैन । प्रज्ञा भवनमा पार्टी स्थापना दिवस मात्रै मनाइएको थिएन कि यस अवसरमा ७७ वटै जिल्लामा अध्यक्ष र सचिवहरूको नामावली सार्वजनिकसमेत गर्ने कार्यक्रम भएका कारण थप महत्त्वपूर्ण भएको थियो । तर संसदीय दलसँगै रहेको खाजाघरकी हिमा सुवेदी भन्छिन्, ‘सधैँ नेता तथा कार्यकर्ताहरू यहाँ पाइने फापरको रोटी र उसिनेको मकै खान लामबद्ध हुन्थे, आज सुनसान छ ।’
दुई पटक सांसद भइसकेकी पूर्वमाओवादीकी नेतृ रूपा श्रेष्ठ एकता घोषणा कार्यक्रममै थिइन् दिनभर । तर उनले खाजा खाने बेला भने उही क्यान्टिन ‘मिस’ गरिरहेकी थिइन् । कारण थियो, प्रज्ञा भवन वरिपरिका रेष्टुरेन्टमा उनलाई मनपर्ने र स्वास्थ्यवद्र्धक खानेकुरा भेटिनन् । उनले भनिन्, ‘क्यान्टिनको फापरको रोटीको स्वाद आइरहेको छ तर यता त्यो पाइन्न ।’
दुई वर्ष पहिले क्यान्टिन सुरुवात गरेकी सुवेदीकहाँ पूर्वसभामुख सुवास नेम्बाङदेखि लिएर ठूलाठूला नेताहरूले खाजा खाने गरेका छन् । सुवेदी भन्छिन्, ‘घरमा जस्तो पाइन्छ, यहाँ खानेकुराहरू पनि त्यस्तै मात्रै पाइन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक प्रायः नेताले यहाँको खाजा खाएका छन् । योगेश भट्टराई आएका बेला यहाँको फापरको रोटी खान छुटाउँदैनन् ।
‘यहाँको खाजाघर चर्चित हुनुको कारण भनेकै अर्गानिक खानेकुरा पाइनुले पनि हो’, एक मन्त्रीका स्वकीय सचिव कुमार गुप्ताले भने, ‘अन्यत्र जस्तो खानेकुरामा दुनियाँथरी कुरा मिसाएको हुँदैन, जसले गर्दा स्वास्थ्य गडबड हुँदैन ।’ पूर्वएमालेकी प्रमुख सचेतक शान्ता चौधरीलाई पनि यहाँ रोटीको स्वाद मनपर्छ । अन्य कार्यकर्ताका लागि त दैनिक खाजा खाने ठाउँ नै यही हो ।
स्वादिलो होस् वा नहोस् तर स्वास्थ्यका दृष्टिले राम्रो खाजा पाइनाले धेरैको रोजाइ यही हुनेगर्छ । साथै यहाँ सस्तो भएकाले पनि खाजा खानेहरू नटुट्ने उनी बताउँछिन् ।
झापा–काठमाडौं सम्पर्क समितिकी सदस्यसमेत रहेकी हिमाले यहाँबाट कमाइ भएको रकमबाट घरखर्चका साथै दुई सन्तानको पढाइ खर्चको जोहोसमेत गरेकी छन् । श्रीमान् विष्णुप्रसाद घिमिरे सुनचाँदी व्यवसाय गर्छन् । उनले आर्जन गरेको सम्पतिबाट व्यापार विस्तारतर्फ केन्द्रित छ । यही क्यान्टिनबाट कमाएको रुपैयाँले घर खर्च राम्रैसँग टरिरहेको उनी बताउँछिन् ।
दैनिक ३५ सय रुपैयाँसम्म बिक्री हुने यस क्यान्टिनमा एमालेका नेता तथा कार्यकर्ताहरूको मात्रै घुइँचो हुँदैन, अन्य मन्त्रालयमा आएका आगन्तुकहरू समेत फापरको रोटी खानैका लागि पनि आउने गरेको क्यान्टिन सञ्चालक हिमा सुवेदीले जानकारी दिइन् ।
एक पटक चाखिसकेका वा कसैले भनेको सुनेकाहरू पनि यहाँ रोटी खान आउने गरेको सुवेदी बताउँछिन् । अन्य मन्त्रालयका कर्मचारी, सुरक्षाकर्मीको आकर्षण पनि यही फापरको रोटीमा हुने गरेका छन् ।
दैनिक ७० वटाजति फापरको रोटी, ५० वटा हाराहारीमा उसिनेको कमै तथा दही–चिउरा केही मात्रामा बिक्री हुने गरेको सुवेदी बताउँछिन् । यहाँ खाजा खाइसकेपछि धेरैले प्रतिक्रिया स्वरूप भन्ने गरेका छन्, ‘साह्रै राम्रो खाजा बनाउनुहुँदोरहेछ । मन्त्रालय छिरेछु भने फेरि आउँछु ।’
यहाँ पाइने परिकार भनेकै फापरको रोटी, उसिनेको मकै र दही–चिउरा मात्रै हो । कहिलेकाहीँ चाउचाउ बन्छ, त्यसबाहेक केही नपाउने सुवेदी बताउँछिन् ।
यी हुन् फापरका फाइदा :
फापरमा प्रशस्त मात्रामा रेशादार तत्त्व, भिटामिन बी१, बी२ र बी६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ । साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो, जसमा करिब १०–१२ प्रतिशत प्रोटिन पाइन्छ ।
फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिड प्राप्त हुन्छ । जनावरको मासु खाँदा कोलेस्ट्रोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदयसम्बन्धी रोगहरूको जोखिम बढ्न सक्छ तर फापरमा कोलेस्ट्रोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो ।
फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरू, जस्तै : जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्त्वहरू हुन्छन् । यसका अलावा रुटिन भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमा भन्दा कम हुने विज्ञहरूको भनाइ छ ।
फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन । त्यसैले फापरको सेवन ग्लुटेन इनटोलेरेन्स अर्थात सेलियाक डिजिज हुनेहरूका लागि लाभदायक मानिन्छ। अर्थात् यो ग्लुटेनमुक्त खानेकुरा हो ।
फापरले कोलेस्ट्रोल कम गर्छ । मुटु स्वस्थ राख्छ । ब्लडप्रेसर सन्तुलित राख्छ । हाई फाइबरयुक्त हुन्छ । डाइबिटिजका लागि उत्तम हुन्छ । पर्याप्त मात्रामा भिटामिन तथा मिनरल्स पाइन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६