विराटनगर : मोरङको पथरीमा रूपा बस्नेतको हत्याको विषयलाई लिएर स्थानीयबासीले गरेको आन्दोलनको क्रममा गरिएको राजमार्ग अवरोध भोलि बिहान ९ बजेसम्मका लागि खुलेको छ ।
प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चार घण्टा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेको समूहले संघर्ष समिति गठन गर्दै भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणासहित आजलाई यातायात चल्न दिएका हुन् । कविता पराजुलीको संयोजकत्वमा स्थानीय व्यापारी/व्यवसायी तथा स्थानीयबासी सम्मिलित संघर्ष समिति गठन गरिएको हो ।
गठित संघर्ष समितिले भोलि ९ बजेदेखि राजमार्ग बन्दको घोषणा गरेको छ । समिति संयोजक पराजुलीले भनिन्, ‘विगत दुई महिनाको अवधिमा यस क्षेत्रमा चार वटा हत्याका घटना भएका छन्, ती सबै घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ दोषी पत्ता लगाएर कारबाही गर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलित हुने समितिले जनाएको छ ।
गत फागुनयता पथरी आसपासको क्षेत्रमा चार वटा रहस्यमय हत्याका घटना भइसकेका छन् । फागुनमा पथरीका सडराज तामाङको हत्या भएको थियो । प्रहरीले उक्त घटनाका दोषी हालसम्म पनि पत्ता लगाउन सकेको छैन ।
त्यस्तै, कानेपोखरीको जंगलमा एक भारतीय महिलाको शव भेटिएको थियो । त्यस्तै, काठमाडौंबाट झापाको गौरादह जाने क्रममा जिरीखिम्ती भन्ने ठाउँमा रमा बरालको हत्या भएको थियो । यी कुनै पनि घटनाको रहस्य बाहिर आउन सकेको छैन ।
तीन दिनअघि आफ्नै डेराअगाडिको सडकमा मृत अवस्थामा फेला परेकी २९ वर्षीया रूपा बस्नेतको शव पोस्टमार्टम पनि नगरेको भन्दै स्थानीयबासी प्रहरीप्रति रुष्ट छन् ।
सोमबार भएको आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच पटक–पटक झडप समेत भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६