विराटनगर : मोरङको पथरीमा रूपा बस्नेतको हत्याको विषयलाई लिएर स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महिलाको समूहले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरेका छन् ।
तीन दिनअघि आफ्नै डेराअगाडिको सडकमा मृत अवस्थामा फेला परेकी २९ वर्षीया रूपा बस्नेतको विषयमा प्रहरीको कार्यशैली चित्तबुझ्दो नभएको बताउँदै हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय महिलाले विरोध जनाएका हुन् ।
पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख युमना बिष्ट बाँस्तोलाको नेतृत्वमा महिलाहरू सडकमा उत्रिएका छन् । उनीहरूले महेन्द्र राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले बस्नेतको हत्याको बिषयमा अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धानको बिषयमा प्रष्ट रुपमा नागरिकलाई जानकारी दिनुपर्ने उनीहरूको माग छ । पथरीमा अपराधको घटना दिनदिनै बढिरहेकाले शान्ति सुरक्षा कायम हुनुपर्ने आन्दोलनकारी जनाएका छन् । अहिले तीन घण्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध छ ।
राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम सञ्चालन हुने सयौँ सवारीसाधान बाटोमा अलपत्र परेका छन् । आन्दोलनकारीले एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालन हुन दिएका छैनन् । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन प्रयास गरिरहेको छ । बन्द खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच पटक–पटक झडप समेत भएको स्थानीय सञ्चारकर्मी गोपाल काफ्लेले आजको न्युजलाई बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६