काठमाडौं : रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यासपूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरूपमा भइरहेका छन् ।
रंगशाला निर्माण गर्दै गरेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रंगशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । हालसम्म करिब ८० लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको उनले बताए ।
यसै सातादेखि खेलमैदानको भुइँको काम थालिने छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताए । गुरुयोजना तयार गरी नक्सांकनको काम तीव्र गतिमा अघि बढाइएको उनले बताए । वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढाइएको छ ।
क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताए । कट्टेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्सांकनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका छन् ।
जेठ महिनासम्ममा ५० करोड संकलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको छ । हालसम्म छ करोड संकलन भएको फाउन्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान सुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम संकलन हुन थालेको बताए ।
सबै जिल्लामा समिति निर्माण गरी रंगशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उनले बताए । अर्थ संकलनका लागि यही वैशाख १३ गते फाउन्डेसनको टोली दुबई जाँदै छ भने त्यसलगत्तै जापान, अस्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको छ । फाउन्डेसनको खातामा पहिले जम्मा भएको दुई करोड नौ लाख रुपैयाँबाट कामको भुक्तानी भइरहेको उनले बताए ।
बहुउपयोगी रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । अहिले बन्न लागेको रंगशालामा ३५ खेल खेलाउन सकिने छ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा छ कट्ठा जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो । रंगशालालाई खेलकूद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६