कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा पहिलोपटक संघीय मन्त्रीले बस्तीको अनुगमन निरीक्षण गरेकी छिन् । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल भिमदत्त नगरपालिकाको वडा नम्बर १९ स्थित बागफाँटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको हलिया बस्तीमा पहिलो पटक पुगेकी हुन् ।
आफ्नो बस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय हलियाहरूले आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन् । हलिया मुक्त भएको लामो समय भइसक्दा पनि हालसम्म पुनर्स्थापना हुन नसक्दा आफूहरू समस्यामा परहेको भन्दै गुनासो गर्दै आएका मुक्त हलियाले त्यस अवसरमा अब समस्याको समाधान हुने आशा व्यक्त गरे ।
विगतमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले आफूहरूको मुद्दा उठाए पनि पुनर्स्थापनामा पहल नगरेको उनीहरूको गुनासो छ । आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्रीसमक्ष शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिको माग गरेका थिए ।
सरकारले आवास निर्माणका लागि उपलब्ध गराउँदै आएको रकमबाट भवन निर्माणमा नपुग्ने भन्दै मुक्त हलिया समाजका अगुवा सीबी लोहारले रकम थप गर्न माग गरेका थिए । ‘हामीलाई त्यो रकम पुग्दैन’ उनले भने, ‘मन्त्रीज्यूले पहिलो पटक बस्तीको अवलोकन गरेपछि रकम बढ्ने अपेक्षा गरेका छौं ।’ विगतमा बधुवा मजदुरसरह जीविकोपार्जन गरेका उनीहरू अहिले लामो समयदेखि पुनर्स्थापनाको पर्खाइमा छन् ।
राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष ईश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसै वर्ष पुनर्स्थापनाको काम सम्पन्न हुने बताइन् । यसै वर्ष मुक्त हलैयाको पुनर्स्थापनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी सरकार अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।
‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो तर भएन, अब त्यस्तो हुँदैन’, मन्त्री अर्यालले भनिन्, ‘यसै वर्ष सबै काम सम्पन्न हुन्छ ।’ संघीय सरकारले आगामी वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्याक्रमहरू समावेश गर्ने तयारी भइरहेको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले मुक्त हलियाको पुनर्स्थापनाको सम्पुर्ण काम यसै वर्ष सम्पन्न गर्नेगरी सरकार लागेको बताइन् । त्यसै अन्तर्गत अहिले मुक्त हलियाको बसोबास रहेको सबै जिल्लामा पुनर्स्थापनाको काम तीव्र गतिमा चलिरहेको उनको भनाइ थियो ।
यसैगरी सरकारले एकिकृत बस्ती निर्माण कार्य गरिरहेको बागफाटा र बाह्रकुण्डाको एकिकृत बस्ती निर्माण सम्पन्न गर्न मन्त्री अर्यालले निर्देशन दिइन् । हलिया पुनर्स्थापनाका निम्ति भइरहेको एकीकृत बस्ती छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै उनले जेठ महिनामै निर्माण सम्पन्न गरेर उद्घाटन गरी सबै घरहरूको चाबी हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कञ्चनपुरको बागफाँटा मुक्त हलिया बस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घर हलिया बस्तीको भवन निर्माण कार्य चरणमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुनर्स्थापनाको काम गरिरहेको छ । जसमा ह्याबिट्याट फर ह्युमानिटी नेपालले प्राविधिक तथा सामाजिक परिचालनमा सहयोग गर्दै आएको छ । गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन् । जसमध्ये गत असार सम्म १२ हजार ५ सय ५६ वडा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए । जसमध्ये हालसम्म ७ हजार २ सय २८ पुनर्स्थापना भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६