काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नई सुपर किंग्समाथि एक रनको रोमान्चक जित हात पारेको छ ।
चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा गरेको उत्कृष्ठ प्रदर्शनले सबैको श्वास रोकिदियो ।
टस जितेर ब्याटिङको निम्ता पाएको बैंग्लोरले आफ्नै मैदानमा राम्रो ब्याटिङ गर्न सकेन र २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । बैंग्लोरका लागि ओपनर पार्थिव पटेलले सर्वाधिक ५३ रन बनाए ।
कप्तान विराट कोहली ९ रनमा आउट भए भने अर्का ब्याट्सम्यान एबी डिभिलियर्सले १९ बलमा २५ रन मात्रै जोड्दा मोइन अलीले २६ र अक्षदिप नाथले २४ रन बनाएर सम्मानजनक स्कोरतर्फ अघि बढाए ।
१ सय ६२ रनको मध्यम लक्ष्य पाएको चेन्नईले पनि राम्रो ब्याटिङ गर्न सकेन । उसले पहिलो ओभरमा नै दुवै ओपनर सेन वाट्शन र सुरेश रैनालाई गुमायो । चेन्नइका लागि कप्तानी इनिङ खेलेका धोनीले ४८ बलमा ८४ रन बनाए पनि अन्तिम बलमा रन जोड्न चुक्दा जित हात पार्न भने सकेनन् ।
धोनीबाहेक अम्बाती रायडुले २८ र रविन्द्र जडेजाले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
अन्तिम ओभरमा चेन्नईलाई जितका लागि २६ रन चाहिएको थियो । बैंग्लोरको बलिङमा उमेश यादव थिए भने धोनी स्ट्राइकमा थिए ।
धोनीले पहिलो बलमा चौका प्रहार गरे । त्यसपछि लगातार २ छक्का हान्दै उनले जिततर्फ उन्मुख गराए । अब ३ बलमा १० रन चाहिने भयो ।
त्यसपछि २ रन लिएर आफैं स्ट्राइकमा आए र पाँचौं बलमा छक्का प्रहार गरे । अब अन्तिम बलका जितका लागि २ रनमात्रै चाहिएको थियो । अन्तिम बलमा भने धोनी चुके । रनका लागि दौडिदा सार्दुल ठाकुर रन आउट भएपछि बैंग्लोरले नाटकीय जित निकालेको हो ।
बैंग्लोरको यो तेस्रो जित हो । उसको १० खेलबाट ६ अंक भएको छ र तालिकाको पुच्छरमा रहेको छ । हारपछि पनि चेन्नई १४ अंककासाथ शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६