काठमाडौंः आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४औं राष्ट्रिय एथ्लेटिक्सको चार सय मिटर दौडअन्तर्गतको प्रतियोगितामा पुरुषतफ एपीएफका नीरप्रताप महतो र महिलातर्फ आर्मीकी तुलसी खत्री पहिलो भएका छन् ।
आइतबार भएको प्रतियोगितामा निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेन्ड तथा तुलसीले १ मिनेट समय लगाए । पुरुषमा एपीएफका शिवराज पार्की दोस्रोे तथा प्रदेश १ का प्रकाश दनुवार तेस्रो भए । महिलामा आर्मीकी संगीता मेचे दोस्रोे तथा प्रदेश ५ की अरुणा रिजाल तेस्रो बने ।
त्यस्तै, पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो भए । उनले १४ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरे । प्रदेश ६ का दुर्गा बुढा दोस्रोे तथा प्रदेश ४ का अनिश थापा तेस्रो भए । सो स्पर्धाको महिलामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ निर्धारित दूरी १६ मिनेट ३८.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । आर्मीकी विश्वरूपा बुढा दोस्रोे तथा एपीएफकी विन्द्रा धान्के श्रेष्ठ तेस्रो भए ।
पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका नीरकुमार चौधरी पहिलो भए । उनले १५.६ सेकेन्ड समय लगाए । प्रहरीका चन्द्रदेव जोशी दोस्रोे तथा आर्मीका अशोक कुँवर तेस्रो भए । महिला १ सय मिटर हर्डल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण जितिन् । प्रमिलो १६.३ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । प्रदेश ५ की जयरानी चौधरीले रजत तथा आर्मीकी तुलसा श्रेष्ठले कांस्य जिते ।
पुरुष ४ गुणा ४ सय मिटर रिलेमा एपीएफ पहिलो, आर्मी दोस्रोे र प्रदेश ५ तेस्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, एपीएफ दोस्रोे र प्रदेश ५ तेस्रो भए । पुरुष ट्रिपल जम्पमा प्रदेश ५ का भुवन महतो पहिलो भए । उनले १४.०६ मिटर हाम्फाले । आर्मीका डिल्ली खत्री दोस्रोे र आर्मीका आशीष चौधरी तेस्रो भए । सो स्पर्धाको महिलामा ११.४ मिटर हाम्फालेकी एपीएफकी शिला चौधरी पहिलो भइन् ।
प्रदेश ५ का पूजा चौधरी र सीमा चौधरी क्रमशः दोस्रोे र तेस्रो भए ।
आर्चरी : अशिम ज्ञानुलाई स्वर्ण
राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेस्रो भए ।
महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउँदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेस्रो भइन् । पुरुष ३० मिटर स्ट्यान्डर्ड टिममा आर्मीले बेस्ट आर्चरी क्लबलाई फाइनलमा ६–० ले पाखा लगाउँदै पहिलो भयो । थसाङ स्पोर्ट्स क्लब, काठमाडौं तेस्रो स्थानमा रह्यो । सो स्पर्धाको महिला फाइनलमा अन्नपूर्ण आर्चरी क्लबले कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पन्छाउँदै तेस्रो बन्यो । आर्मीले तेस्रो स्थानमा चित्त बुझायो ।
रिकर्भ मिक्स टिममा आर्मीका डम्बरबहादुर थापा र आइशा तामाङको जोडीले पहिलो स्थान हात पारे । फाइनलमा उक्त जोडीले आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीलाई ६–२ ले निराश पारे । कास्कीका मुकेश तामाङ र केशरी आले मगरको जोडीले तेस्रो स्थानमा चित्त बुझाए ।
रिकर्भ पुरुष टिमको ७० मिटरमा कास्कीले प्रहरीलाई फाइनलमा ६–० ले निराश पा¥यो । आर्मी तेस्रो बन्यो । पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्रान्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते । आर्मीका कमल दानीले कांस्य जिते । त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन् । अन्नपूर्णकै सोलिना गुरुङ तेस्रो भइन् ।
पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ शीर्ष स्थानमा रहे । फाइनलमा उनले कास्कीकै राजेश राणालाई निराश पारे । थसाङका रमेश भट्टचन तेस्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भलिबलमा एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा
राष्ट्रिय खेलकुदअन्तर्गत नै आइतबार भएको महिला भलिबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्ने क्रममा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २५–८, २५–१३, २५–१० को सोझो सेटमा हराउँदै एक खेलअगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४, २५–१२, २५–१८ को सोझो सेटमा हराउँदै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।
त्यसैगरी समूह ‘बी’मा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५, १७–२५, २५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनायो । सोझो सेटमा हराउँदै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पुरुषतर्फ पनि नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरे ।
नेपाल आर्मी क्लब भने एक दिनअघि नै सेमिफाइनल प्रवेश गरेको थियो । आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३, २५–२०, १७–२५ र २७–२५ ले हराउँदै समूह विजेता भएको छ । समूह ‘क’को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७, २५–१४, २५–२१ ले हराउँदै चार खेलबाट नौ अंक जोडेपछि सेमिफाइनल प्रवेश गरेको हो ।
तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेलअगावै सेमिफाइनल प्रवेश गरे पनि समूह विजेताको टुंगो सोमबार लाग्ने छ । आइतबार नै भएको पुरुषतर्फको खेलमा प्रदेश ३ ले प्रदेश २ लाई २५–१७, २५–२१, २५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६