बाँके : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको छिनोफानो भएको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आफ्नो अग्रता कायमै राखेको छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी १३६ पदक जितेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले २५ स्वर्ण, २२ रजत र ३१ कास्यसहित ७८ पदक जितेको छ । प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपाल प्रहरीको पुलिस क्लबले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ७० पदक हासिल गरेको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्यसहित ६२ पदक, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १५ कास्यसहित २७ पदक, छैठौँ स्थानमा रहेको गण्डकी प्रदेशले छ स्वर्ण, १० रजत र २३ कास्यसहित ३९ पदक र सातौँ स्थानमा रहेको प्रदेश २ ले छ स्वर्ण, छ रजत र छ कास्यसहित १८ पदक जितेको छ ।
आठौँ स्थानमा रहेको प्रदेश ५ ले चार स्वर्ण, १२ रजत र २५ कास्यसहित ४१ पदक, नवौँ स्थानको प्रदेश १ ले तीन स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ पदक, दशौँ स्थानमा रहेको कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक तथा अन्तिम स्थानमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले दुई स्वर्ण र दुई कास्य पदक जितेको छ ।
प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार अझै २२३ स्वर्ण, २२३ रजत र ३३५ कास्यसहित ७८१ पदकको टुङ्गो लाग्न बाँकी छ ।