काठमाडौ : सरकारले श्रीलंकाको विभिन्न ठाउँमा भएको बम विष्फोटको घटनाको भर्त्सना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री रणिल विक्रमासिङ्घेलाई शोक सन्देश पठाउँदै मानवताविरोधी आतंकवादी उक्त घटनाबाट अमूल्य जीवनमा क्षति र गम्भीर घाइते भएको घटनाले आफू दूखित् भएको बताएका हुन्।
सन्देशमा भनिएको छ, ‘म विश्वास गर्छु, यो आतंककारी घटनाका अपराधीलाई छिटोभन्दा छिटो न्यायिक कठघरामा ल्याइनुपर्छ। नेपाल सबै किसिमका आतंकवादी क्रियाकलाप र अभिव्यक्तिको भत्र्सना गर्दछ।’
प्रधानमन्त्री ओलीले भनेका छन्,‘नेपाल सरकार, नेपाली जनता र मेरो व्यक्तिगततर्फबाट पनि महामहिम र महामहिममार्फत् पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। दुःखको यस घडीमा हामी श्रीलङ्काका मित्रवत परिवारजनका साथमा छौँ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६