गोरखा र दोलखा केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको विनासकारी भूकम्प गएको पाँच वर्ष बितिसकेको छ । काठमाडौं लगायत थुप्रै जिल्लामा गरी करिब आठ हजार जनाको ज्यान गयो । हजारौं घाइते भए । अझैसम्म पनि आइरहने परकम्पले मानिसको मुटु थर्किन्छ । समयसँगै धेरैको दैनिकी सामान्य अवस्थामा फर्के पनि दूरदराजका जनता भने अझै पनि राहतको पर्खाइमा छन् ।
भुइँचालोको परकम्प आउला कि भन्ने डरभन्दा राहत कहिल्यै नआउने पो हो कि भन्ने चिन्ताले ग्रसित छन् उनीहरू । उनीहरू अझै पनि वडा कार्यालय, गाउँपालिका र नगरपालिका धाइरहेकै छन् । सरकारले भूकम्प पीडितलाई तीन लाख रुपैयाँ दिने घोषणा गरे पनि धेरैजना यो राहतबाट वञ्चित छन् । सरकारको कमजोर कार्यशैली र चुहावटले गर्दा अनुदान ठाउँमा पुगिरहेको छैन । भुइँचालोले छोडेर गएको मानसिक यातनालाई ‘राहत’ले कम गरेको छैन ।
दोलखा कालिञ्चोककी ५२ वर्षीय साङ डोल्मा तामाङ कालिञ्चोक भगवती मन्दिर जाने बाटोमा छुर्पीको व्यापार गर्छिन् । उनका श्रीमान् पनि सोही ठाउँमा पूजा सामग्रीको व्यापार गर्छन् । १२ गतेको भूकम्पले उनको तीन तल्ले घर भत्कियो । ‘धेरै दिनसम्म पालमा बस्यौँ । पछि टहरा बनायौँ’, उनले भनिन्, ‘अहिले कुरीमा काठको सानो टहरो बनाएका छौँ । तर भत्किएको घरको राहत अझै पाएका छैनौँ । प्रकृतिले पनि गरिबलाई नै हेप्दोरहेछ ।’
साङ डोल्मा तामाङ पनि राहत लिन धेरै धाइन् । तर अहिलेसम्म उनको हातमा केही परेको छैन । ‘छोराछोरी आफ्नो–आफ्नो परिवारसँग बस्छन् । हामी दुई जना जेनतेन गुजारा चलाइरहेका छौँ’, उनी भन्छिन् । उनीहरू विगत १० वर्षदेखि यही ठाउँमा व्यापार गर्दै आएका छन् । १० वर्षमा कालिञ्चोकमा धेरै परिवर्तन आएको डोल्मा बताउँछिन् । उनका अनुसार पहिले धेरै कम मान्छे आउँथे । अहिले चाहिँ चहलपहल धेरै बढेको छ ।
कालिञ्चोकमा धेरै परिवर्तन भइसके पनि उनको जीवनमा खासै केही परिवर्तन नभएको उनी गुनासो गर्छिन् । ‘छुर्पी लिन दुई दिनको बाटो हिँडेर जानुपर्छ, एकचोटिमा पाँच धार्नी मात्र बोक्न सकिन्छ । त्यही पनि आफूले सोचेजस्तो व्यापार हुँदैन । दुःख छ’, भन्छिन् उनी ।
अरू भूकम्प पीडितहरूले राहत पाएको सुन्ने गर्छिन् उनी । तर आफू जाँदा सधैँ पालो आएको छैन भन्ने सुन्दा निराश हुन्छिन् । छोराहरूले ‘अब आउँदैन, आश मार्दिनू’ भने पनि डोल्मा अझै आशमा बसिरहेकी छिन् ।
कालिञ्चोक भगवतीको परिसरमै छुर्पीको व्यापार गर्ने छिनमाया तामाङको समस्या पनि उस्तै छ । ४० वर्षीया उनको परिवार कुरीमा सानोतिनो होटल चलाएर बस्छन् । उनी भने एक्लै कालिञ्चोकमा बस्छिन् । आफू र आफ्नो परिवारको सबै आवश्यकता पूरा गर्न नसके पनि जेनतेन गुजारा चलाइरहेको उनी सुनाउँछिन् । भूकम्पमा उनको घर पनि भत्कियो । तर राहत रकम अझै उनले पाएकी छैनन् । ‘ठूला कुरा गर्ने, जान्ने बुझ्नेले मात्र पाउने हो कि ?’, उनी प्रश्न गर्छिन् ।
बाघवीर शेर्पा कुरीको एक होटलमा काम गर्छन् । उनी पनि राहत नपाएका भूकम्प पीडितमध्येकै एक हुन् । ४५ वर्षका उनीमाथि पाँच जना परिवारको जिम्मेवारी छ । आफूलाई छाती दुख्ने, खोकी लाग्ने रोगले साह्रै पिरोलेको छ । उनले अझै पनि आफ्नो उपचार गर्न पाएका छैनन् ।
‘यता कालिञ्चोक, कुरीतिर राम्रो उपचार गर्ने ठाउँ नै छैन ।’ कालिञ्चोकबासीले धेरै परिवर्तन देखे पनि सुविधाको मामिलामा यो स्थान पछि नै रहेको गुनासो गर्छन् शेर्पा । ‘न राम्रो बाटो बनेको छ, न अस्पताल, न स्कुल’, उनी भन्छन् ।
साङ डोल्मा र छिनमाया लगायत अरू महिलाले गाउँपालिका कार्यालयमा गएर निवेदन दिइसकेका छन् । ‘अब त अन्तिम अन्तिम भइसको । राहत पाइन्छ कि ?’, साङ डोल्मा भन्छिन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६