काठमाडौं : ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ लोकप्रिय गायक रामकृष्ण ढकालको चर्चित गीत हो यो । यो गीतले भनेजस्तै भएको छ कलाकार जयनन्द चन्द ठकुरीको जीवन पनि ।
एक समयका चर्चित कलाकार हुन् जयनन्द । उनको अभिनय यात्रा जमिरहेको थियो । चलचित्र जगतमा चरित्र अभिनेताको रूपमा स्थापित बन्दै थिए ।
केही कुराले पलभरमै मानिसको गन्तव्य फरक बनाइदिन्छ । त्यस्तै भयो उनको जिन्दगीमा पनि । कला यात्रालाई निरन्तरता दिइरहेकै बखत जयनन्दको अकस्मात बायाँ हात–गोडा चल्न छाडे । उपचारका लागि अस्पताल पुग्दा प्यारालाइसिस भएको थाहा भयो । त्यसपछि उनको जीवनले दुखद् मोड लियो ।
अरूको सहाराबिना उनी सामान्य उठबस गर्न पनि सक्दैनन् । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । हाल उनलाई ललितपुरको भनिमण्डलमा छोरी छाया उप्रेतीले उनलाई सहारा दिइरहेकी छन् ।
उनको इच्छा थियो, जीवनपर्यन्त चलचित्रमा अभिनय गर्ने तर उनको इच्छाभन्दा शरीरमा थपिँदै गएका रोगहरू शक्तिशाली बन्दै गए तैपनि उनले हार मानेन् । प्यारालाइसिसलाई जित्दै केही वर्ष ह्विलचियरमा विभिन्न कार्यक्रममा पुग्ने गर्थे । तर सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी बाहिर हिँड्न नसक्ने भए । अहिले त उनलाई बोल्न पनि कठिन हुन थालेको छ । कहिलेकाहीँ बोली जाने र आउने गरेको उनकी छोरी छाया बताउँछिन् ।
छोरी छाया भन्छिन्, ‘प्यारालाइसिस भएपछिको केही वर्ष कार्यक्रमहरूमा जानुहुन्थ्यो । त्यतिखेर उहाँभित्रको तीव्र इच्छाले जितेर होला, तीन–चार वर्षयता अलिअलि घरबाहिर भित्र गर्न सक्नुहुन्थ्यो । ओछ्यानमै दिन कटाउने अवस्था आएको एक वर्ष भयो ।’
बुबाको उपचारका लागि नर्भिक, अल्का, ग्राण्डीलगायतका थुप्रै हस्पिटल धाइन् उनी । ‘कतैबाट निको नहुने छाँट देखिएपछि बुबाको आग्रहमा भारत पनि पुर्यायौँ’, छाया भन्छिन् ‘तर त्यहाँबाट पनि केही टुंगो लागेन ।’
केही महिनायता डाइपर लगाउनुपर्ने अवस्था आएकाले डाइपर फेर्दै महिनामा पाँच हजार रुपैयाँ खर्च हुने गरेको उनी बताउँछिन् । औषधिको त छुट्टै भइहाल्यो । उनी भन्छिन्, ‘मध्यम वर्गीय परिवार भए पनि लामो समयदेखि उपचार गराउँदा आर्थिक संकट पर्छ नै । मासिक पाँच हजारले पनि पुर्याउन नसकिने अवस्था छ । समय समयमा थपिने रोगहरूले त झन् खर्च बढाउने गरेको छ ।’
चलचित्र ‘जीवन रेखा’बाट डेब्यु गरेका जयनन्द चन्दले लगभग १०० चलचित्रमा अभिनय गरेका छन् । उनले टेली चलचित्र, म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।
विश्वास, भाग्य रेखा, फेरि भेटौँला, मायालु, युद्धलगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय चलचित्र पञ्चओटी तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् ।
जीवनपर्यन्त चलचित्रमा अभिनय गर्ने लक्ष्य बोकेका चन्दलाई अहिले आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेको उनकी छोरी छाया बताउँछिन् । केही कलाकारहरू चन्दको अवस्था बुझ्न र भेट्नका लागि पुगिरहेका हुन्छन् ।
कलाकार सरिता लामिछाने, दीपाश्री निरौला, कविता शर्मा भर्खरै उनको अवस्था बुझ्नका लागि पुगेका थिए । उनीहरूले आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै केही आर्थिक सहयोग पनि गरेका थिए । उनकी छोरी छायाले उपचारमा सहयोग गरिदिन आग्रह गरेकी छन् ।
‘उहाँलाई हस्पिटल लग्नसमेत गाह्रो छ । दाजुभाइ पनि नभएकाले आमाबुबालाई आफैँले सहारा दिँदै आएकी छु । एक्लो सन्तानको दायित्व निर्वाह गरिरहेकी छु’, भन्छिन्, ‘उपचारका लागि भनेर दिइने पाँच हजार उहाँको सामान्य उपचारमै ठिक्क हुने गरेको छ । उपचारका लागि सहयोग भए अझै सहज हुने थियो ।’
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६