विराटनगर : जन्मदिने आमाको माया कसलाई लाग्दैन र ? आमाको समीपमा रहेर आमाको आत्मीय माया पाउने रहर कसलाई हुँदैन र । तर जन्म दिने आमा भएर पनि नेपालमा जन्मिएका एक स्वीस नागरिक अहिले आमाको खोजीमा भौँतारिइरहेका छन् ।
३९ वर्षीय राजु नेपालमै जन्मिए । बाल्यकालको नौ महिना मात्र उनले आमाको काखमा बिताए । तर उनी पारिवारिक कारणले अर्काको धर्मपुत्रको रूपमा विदेसिनुपर्यो । सन् १९८० मा राजुलाई स्वीस नागरिक हेम स्वीजरले धर्मपुत्रको रूपमा ग्रहण गर्दै स्विट्जरल्यान्ड लगे । भारतको सिलगुडीबाट राजुलाई उनकै आमा रूपा राईले स्वीस नागरिकलाई सुम्पिदिइन् । धेरै पछि मात्र आफ्नाबारेमा थाहा पाएपछि आमाको सोधीखोजी गर्दै विराटनगर आइपुगेका हुन्, राजु ।
राजु अहिले स्विट्जरल्यान्डको नागरिक भइसकेका छन् । अनुुहार र रूपरङ नेपाली देखिए पनि राजुु नेपाली बोल्न जान्दैनन् । उनको राहदानी पनि स्विट्जरल्यान्डबाटै जारी छ । स्वीस दम्पत्ति हेम र भेटा स्वीजर केलरले उनको राहदानी पनि बनाइदिए । राहदानीमा उनको नाम हेम स्वीजर छ । यद्यपि उनी आफ्नी आमाको खोजीमा कहिले वृद्धाश्रम, त कहिले जिल्ला प्रशासन कार्यालय दौडिरहेका छन् ।
भारतको सिलगडीमा स्वीस नागरिकलाई धर्मपुुत्रको रूपमा जिम्मा लगाएर उनकी आमा रूपा पूर्वी नेपालको कुुनै ठाउँ बस्दै आएको राजुको अनुमान छ । पूर्वी नेपालको कुनै ठाउँमा रूपाको दिदीको घरमा आफ्नी आमा बसिरहेको सूचना पाएको राजुको भनाइ छ ।
सोही अनुुमानमा उनी आमा खोज्दै विराटनगर आएका हुुन् । उनलाई नौ महिनाको हुुँदा धर्मपुुत्र भएर विदेश जानुुपरेकाले आफ्ना आफन्त र इस्टमित्रका बारेमा त्यति धेरै थाहा छैन ।
जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका राजुलाई प्रशासनले पनि सहयोग गरिरहेको छ । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी चन्द्रकला ओलीले प्रशासनले गनुपर्ने सहयोग गरेको जानकारी दिइन् । ओलीका अनुसार रूपा राईको नाममा बनेका सबै नागरिकताको फोटो हेरेर उनकी आमालाई चिन्ने प्रयास भइरहेको छ ।
मोरङमा रूपा राईको नाम गरेका १० जना र उनको आमाको उमेरसँग मेल खाने एक जना रूपा राईले नागरिकता लिएको देखिएको छ । सोही आधारमा राईको खोजीको प्रयास भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६