काठमाडौं : सगरमाथाको शान जोगाइराख्न र प्रदूषण नियन्त्रण गर्नका लागि बर्सेनि सगरमाथा क्षेत्रको फोहोर इन्सिनेटरमार्फत् जलाइन्छ भने नजल्ने फोहोर पुनः प्रयोगका लागि काठमाडौंं पठाइन्छ ।
प्रत्येक हिमाल आरोहीले कम्तिमा आठ किलो फोहोर आफैँले ल्याउनुपर्ने व्यवस्था छ । त्यस्तै, सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहणको काम सकेपछि अनिवार्य सरसफाइ गर्ने गर्छ । विभिन्न टोल, गाउँ, समूह आदिले खुम्बू क्षेत्रको सरसफाइको क्षेत्रमा भूमिका निभाइरहेका छन् । सबै फोहोरलाई जल्ने भए नाम्चेमा ल्याएर जलाउने तथा नजल्नेजतिलाई काठमाडौं नै बर्सेनि पठाइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेले जनाएको छ ।
पुनः प्रयोग गरिएका सामग्रीहरू नाम्चे नै ल्याएर पर्यटकले फालेका फोहोरबाट बनेका विभिन्न धातुका मूर्ति, गुम्बा, हिमाल आदिका आकृति पर्यटकलाई नै बिक्री गरिरहेको छ । यसरी फोहोरको पुनः प्रयोगबाट खुम्बू क्षेत्रको सरसफाइमा सहयोग गर्ने काम भइरहेको सगरमाथा क्षेत्रको सरसफाइको जिम्मा पाएका सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
शनिबार मात्र सगरमाथा राष्ट्रिय निकुञ्जले सरसफाइ सप्ताह सम्पन्न गरेको छ । यस वर्ष सम्पन्न भएको सरसफाइबाट पुनः प्रयोगका सिसा, फलाम र टिनजन्य एक मेट्रिक टन सामग्री काठमाडौं पठाइएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । साथै नेपाली सेनाको हेलिकोप्टरमार्फत् एक मेट्रिक टन ओखलढुङ्गा पठाइएको उनले जानकारी दिए ।
एक साताभर लुक्ला, फाक्दिङ, टोकटोक, घाट, मन्जो, नाम्चे, दोले, लबुचे, फोर्चे, दिङबोचेलगायत दर्जन बढी पर्यटकीय क्षेत्रबाट संकलित फोहोरको चार भागमा एक भाग मात्र पठाएको र बाँकी नाम्चेमै रहेको उनको भनाइ छ । नाम्चेमा रहेको फोहोरलाई पुनः प्रयोगका लागि काठमाडौंको ‘ड्यु वर्स्ट टु भ्याल्यु’लाई पुनः प्रयोगका लागि दिने तयारी भइरहेको छ भने जलाउन र गलाउन मिल्ने फोहोर नाम्चेमा गाड्ने र जलाउने तयारी भइरहेको छ । हरेक वर्ष यसरी नै पुनः प्रयोगका फोहोर काठमाडौं पठाउने गरिन्छ ।
यता, खुम्बूका सबैजसो होटल भने काठमाडौंको तरकारीले धानिरहेको छ । स्थानीय कृषि उपज व्यापारी शंकर खड्काका अनुसार रायो सागबाहेक सबै काठमाडौंको तरकारीमा भरपरेको हो । सोलुखुम्बूको खुम्बू क्षेत्र भनेर चिनिने पर्यटकीय क्षेत्रमा जब पर्यटक बाक्लिन्छन् तर स्थानीय व्यापारीहरू काठमाडौंको कालीमाटी बजारमा बाक्लिने गरेको छ । सोलुखम्बुका सबैजसो पर्यटकीय होटल कालीमाटीमा पाइने तरकारीमा भरपर्ने हुँदा खुम्बूका व्यापारीहरू अहिले कालीमाटीबाट कृषि उपज ढुवानी गर्न व्यस्त बनेका छन् ।
पर्यटकहरू खुम्बू क्षेत्रमा आउँदा कम्तीमा आठ दिनको र बढीमा ३५ दिनको यात्रा मिलाएर आउँछन् । उनीहरू आउँदा क्याम्पिङ रुटमा आउने हो भने आफैँले सबै खाने तरकारीको व्यवस्था गरेका हुन्छन् भने बाँकी होटलमा बस्छन् । होटल खुम्बू क्षेत्रमा ३१५ भन्दा बढी रहेका छन् तर त्यस क्षेत्रमा खुलेका होटलहरूको चुह्लो भने काठमाडौंको तरकारीले धानेको छ ।
यस वर्ष रामेछापको मन्थली हुँदै पर्यटक आउने भएकाले सिधा यातायातका कारण मन्थलीको तरकारी आउने गरेको लुक्लाका व्यवसायी फुर्तीमान तामाङले बताए । धेरैजसो होटलहरू तीन हजार मिटरमाथि रहेकाले त्यस क्षेत्रमा आलु र रायोबाहेक खास केही उत्पादन हुँदैन । आलु राम्रौ उत्पादन भए पनि आलुका विभिन्न परिकार बन्ने कच्चा पदार्थसमेत काठमाडौंले धानेको व्यवसायीहरू बताउँछन् ।
अहिलेको सिजनमा हेर्ने हो भने रायो सागबाहेक बाहिरी जिल्लाबाट आयात गरिएको तरकारीको भरमा होटल चलिरहेको नाम्चेका व्यापारी सैबु राईले बताए ।
माथिल्लो खुम्बू क्षेत्रमा कृषि उपज उत्पादन हुन नसक्ने तथा तल्लो क्षेत्रमा उत्पादन हुने कृषि उपजहरू खुम्बूसम्म ढुवानी गर्न नसक्दा काठमाडौंको तरकारीमा भरपर्नुपरेको नाम्चे होटल व्यवसायी संघले जनाएको छ ।
खुम्बू पासाङल्हामु गाउँपालिका– ३ घाटमा व्यवसायी उत्तरबहादुर राईका अनुसार माथिल्लो क्षेत्रमा होटलहरूले हेलीमा चार्टर गरेर काठमाडौंबाट तरकारी ल्याउने गरेका छन् भने तल्लो क्षेत्रका कृषकहरूको तरकारी खेर गइरहेको छ ।
सोलुखुम्बूको माथिल्लो क्षेत्रमा कृषि उपज उत्पादन हुँदैन भने तल्लो क्षेत्रबाट खुम्बू पुग्न चार–पाँच दिन हिँड्नुपर्ने हुँदा ढुवानीको आधारमा काठमाडौंको तरकारी सहज बनेको खुम्बूका व्यवसायी सेर्की शेर्पा बताउँछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६