भनिन्छ, हरेक क्रान्तिले नेता जन्माउँछ । तर त्यति मात्रै होइन गतिशील हरेक राजनीतिक व्यवस्थाले पनि सोही समयअनुसारको नेता जन्माउँछ ।
विश्वमा केही यस्ता उदाहरण छन्, जहाँको नेतृत्वमा पुग्ने धेरै नेताहरू कुनै नियमित राजनीतिक क्रियाकलापबाट भन्दा देशको राजनीतिक संकट, संक्रमण, संघर्ष वा आन्दोलनबाट नै नेतृत्वमा पुगेका छन् ।
देशको खण्डखण्ड अवस्थाका बीचबाट पृथ्वीनारायण शाहले एकीकरणको महाअभियान थाले भने शाहवंशीय शासन व्यवस्थाभित्र रहेको चरम मनोमालिन्यको अवस्थाबाट कोतपर्व हुँदै जंगबहादुरको जन्म भयो ।
राणाशासनको अन्त्यका लागि भएको संघर्षकै क्रममा शुक्रराज शास्त्रीदेखि मातृकाप्रसाद कोइराला, बिपी कोइरालाहरू राजनीतिको अग्रभागमा आए र देशलाई नेतृत्व प्रदान गरे । राणाशासनको अन्त्यपछि आएको प्रजातन्त्र, त्यसपछिको पञ्चायकालले धेरै नेताहरू जन्मायो र अहिले त्यही समयमा खडा भएका नेताले नेपालको नेतृत्व गरिरहेका छन् ।
नेपालको १० वर्षे युद्धले धेरैलाई नेता बनायो । अहिले नेपाललाई हिजोको नेपाल होइन, परिवर्तित, सुसंस्कृत, सभ्य, विकसित नेपाल बनाउँछौं भन्नेहरू राजनीतिमा आइरहेका छन् ।
राजनीतिलाई धेरै नेपालीले ‘फोहोरी खेल’ का रूपमा पनि लिने गर्छन् । तर राजनीतिको विकल्प राजनीति नै हो । त्यसैले युवा वर्गको यसमा सचेत भूमिका आवश्यक हुन्छ । नेपालमा २०७४ र ७५ मा भएका स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा धेरै नयाँ अनुहारको उदय यसकै परिणाम थियो ।
चर्चाका हिसाबले रञ्जु दर्शना, सूर्यराज आचार्यजस्ता अनुहारहरू राजनीतिमा आए । गगन थापाहरू २०६२/६३ को जनआन्दोलनले चम्किए । संघीय संसद्को चुनावमा कांग्रेसका हस्ती नेता प्रकाशमान सिंहलाई पत्रकारिता पृष्ठभूमिका रवीन्द्र मिश्रले कडा टक्कर दिए । चर्चाअनुसार उनीहरूले जित्न सकेनन् । तर उनीहरूले कुनै न कुनै रूपमा राजनीतिक पाइलालाई बलियो पारेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालहरू अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनको जगमा राजनीतिमा पाइला राख्न सफल भए ।
यतिबेला भारतमा लोकसभा निर्वाचन भइरहेको छ । यो निर्वाचनपछि मे २३ मा हुने मतगणनाबाट भारतमा आगामी सरकार कसको बन्ने छ भन्ने टुंगो लाग्ने छ । यो चुनावमा भारतीय राजनीतिका दिग्गज नेताहरू, खेलाडीहरू तथा बलिउड कलाकारसम्म चुनावी मैदानमा छन् ।
तर सबैभन्दा बढी ध्यान बिहारको बेगुसरायले तानेको छ । जहाँबाट कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट चुनावी मैदानमा छन् । भारतीय सञ्चारमाध्यमदेखि राजनीतिक दल र सर्वसाधारणसमेत कन्हैया कुमार उम्मेदवार भएको यो क्षेत्रबारे चर्चा गरिरहेका छन् ।
उनको चर्चा भारतको सत्तारुढ भाजपाका उम्मेदवार गिरिराज सिंह र कांग्रेसका उम्मेदवारविरुद्धको प्रतिस्पर्धाका कारण होइन, उनले आफ्नो विद्यार्थी जीवनदेखि नै केन्द्रीय राजनीतिलाई आफूतिर तान्न गरेको प्रयासबाट यहाँको चर्चा चुलिएको हो ।
जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्ष भएदेखि नै उनले भारतको मूलधारको राजनीतिप्रति तीव्र व्यंग्य, वर्तमान शासनशैली र सत्ताविरोधी छवि बनाएर प्रस्तुत हुँदै चर्चा पाए ।
जेएनयूको एउटा कार्यक्रममा भारतीय संसद्माथि आक्रमणको दोषी मानिएका अफजल गुरुको पक्षमा नारा लगाएको आरोपमा पक्राउ परे । उनीमाथि ‘देशद्रोही’ को बिल्ला भिराइयो । सरकार र भाजपा कन्हैयाप्रति अनुदार देखियो, तर उनीविरुद्ध लगाएको आरोप प्रमाणित गर्न सकेनन् । कन्हैया एकाएक राजनीतिमा ‘हिरो’ बने ।
जनताको सहानुभूति कन्हैयाप्रति भयो, जनलहर देखियो भारतका धेरै राजनीतिक दल समेत कन्हैयाको विपक्षमा खडा हुन सकेनन् । बिहारको एउटा विपन्न परिवारमा जन्मिएका कन्हैया कुमार प्रगतिशील विचार राख्ने युवामाझ लोकप्रिय भए । सामान्य पारिवारिक पृष्ठभूमिका कन्हैया कुमार केन्द्रीय राजनीतिमा भूमिका खेल्ने स्थानमा पुग्ने देखिएपछि जनताको पनि उनीप्रति अपेक्षा ह्वात्तै बढ्यो । सीमान्तकृत, अल्पसंख्यक, विपन्न जनताको सहानुभूति कन्हैयाको राजनीतिको आधार हो ।
भारतका कतिपय ठूला मिडियाले समेत कन्हैयालाई साथ दिएका छन् । भाजपाका उम्मेदवार गिरिराज सिंह बाराहियाका हुन् । बेगुसरायको स्थानीय भएकाले पनि उनको चुनावी आधार बलियो देखिएको छ ।
चुनावी प्रचारका क्रममा उनी बेगुसरायका शहरदेखि गाउँसम्म पुगेका छन्, युवा, विद्यार्थी, महिला, राजनीतिक दल, साहित्यिक क्षेत्रका कार्यक्रममा समेत उनले सम्बोधन गरिसकेका छन् ।
यी सबै कार्यक्रममा उनी कहिले एक्लोजस्तो देखिन्छन्, अनि कहिले उनको पक्षमा सबै खडा भएकाजस्तो पनि देखिन्छ । भारतमा केही वर्षदेखि नै परिवर्तनका आवाजहरू तीव्र रूपमा उठेका छन् । नेपाली समाजजस्तै भारतको समाज पनि परिवर्तनको पर्खाइमा नै छ ।
तर, परिवर्तनको पक्षमै रहेकाहरू किन कन्हैयाजस्ता युवाको साथमा खडा छैनन् भन्ने प्रश्न उठ्छ । उनको भाषणमा आउने ताली, चुनावी सभामा देखिने दर्शक, भाषण सुन्न आएका जनताको बलमा मात्रै उनले चुनाव जित्ने आधार छ भन्न सकिन्न । उनको वाकपटुताबाट धेरै प्रभावित पनि छन् । तर त्यो निर्णायक छैन ।
उनी भारतमा जारी लोकसभा निर्वाचनमा एउटा कमजोर कम्युनिस्ट पार्टीबाट चुनाव लडिरहेका छन् । कम्युनिस्ट पार्टीबाट चुनाव लड्दा कन्हैयालाई भन्दा बढी फाइदा चाहिँ कम्युनिस्ट पार्टीलाई पुगेको छ ।
भारतीय विश्लेषक भन्छन्, ‘कम्युनिस्ट पार्टीले सिंगो भारतको हिरो बन्न कन्हैयालाई रोक्छ ।’ सन् २०१४ को निर्वाचनमा बेगुसरायमा कम्युनिस्ट पार्टी तेस्रो भएको थियो । यो क्षेत्रबाट भाजपाका डा. भोला सिंह चार लाख २८ हजार मत ल्याएर विजयी हुँदा कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद सिंह एक लाख ९२ हजार मत ल्याएर तेस्रो भएका थिए ।
त्यसैले यो क्षेत्रमा दुई लाखभन्दा बढी मत उल्टाएर जित निकाल्न कन्हैया कुमारलाई सजिलो छैन । अर्कातर्फ उनी आफैं यो मतलाई उल्टाएर सांसद् बन्न पनि सक्छन् । तर भारतमा उनी चुनाव लडिरहेको भारतीय कम्युनिस्ट पार्टीको लोकसभामा एक सिट मात्रै छ । जसले संसद्मा हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन ।
चुनाव जित्न सके भने उनको सडकको आवाज सदनसम्म चाहिँ पुग्ने छ । कन्हैया आफैँ संसद्भित्रबाट आफ्ना एजेन्डा लागू गर्न सकिँदैन भन्नेमा प्रष्ट छन् । त्यसैले आशलाग्दा र गतिशील युवा भए पनि कन्हैया केवल एउटा सांसद्को भूमिकामा सीमित बन्ने छन् ।
त्यसैले उनले आफ्ना एजेन्डा लागू गर्नका लागि बलियो साथ खोज्नुपर्ने अवस्था छ । अन्यथा उनको गन्तव्यमा अवरोध पैदा हुने छ । अर्कातिर कन्हैया चर्चा गरिए जति बुहप्रतिभाशाली होइनन् । उनले उठाएको आवाजलाई सत्ताबाट लागू गराउनका लागि ऊर्जाशील संगठन आवश्यक छ । सीपीआई कन्हैया भारतको राजनीतिलाई नै उल्टाउने तागत राख्ने नेताका रूपमा लिन्छन् ।
यद्यपि यो भ्रम कन्हैया आफैँले भने नपालेकै राम्रो हो । यसले उनको ऊर्जालाई क्षति पुर्याउने छ । भारतमा समतामूलक समाज निर्माणको उनको चाहनाले मूर्तरूप नपाउन सक्छ । त्यसैले राजनीतिका हरेक पाइला हचुवाको भरमा होइन, विवेकसाथ चाल्नुपर्छ । कन्हैयाले संगठनलाई गति दिन सके भने असम्भव भने होइन ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६