काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले धनुषामा बलात्कारपछि हत्या गरिएकी रेश्मा रासाइलीको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
आज शनिबार धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित उनकै गाउँ पुगेर मन्त्री महासेठले रेश्माका बुबा देवनारायणलाई तत्कालका लागि नगद दस हजार रुपैयाँ प्रदान गरेका हुन् । आगलागीमा परेर घर गुमाएका देवनारायणले लगत्तै फागुनमा छोरी गुमाउनुपर्यो ।
आगलागीपछि घरबारविहीन भएको रसाइली परिवारलाई राहतस्वरुप नगद प्रदान गरिएको मन्त्री महासेठले जनाए । साथै उनले यही वैशाखभित्रै जस्तापाता लगाएको घर पनि निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । साथै उक्त परिवारलाई गाँसबासको व्यवस्था आफूले गर्ने उनले जनाए ।
गत पुस २३ गते आगलागीबाट घरबारविहीन बनेका देवनारायणको परिवारमा उनकी ९० वर्षीया आमा सूर्यमाया र ११ वर्षकी छोरी दुतिया भनिने रेश्मा बस्थे । तर आगलागीको पीडा अलिकति बिर्सन नपाउँदै देवनारायणले आफ्नी छोरी गुमाउनुप¥यो । फागुन १ गते बटेश्वर–४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरले रेश्मालाई बलात्कारपछि जलाएर हत्या गरेका थिए । गाउँभन्दा पाँच सय मिटर पर रहेको उखुबारीमा जलाएको अवस्थामा उनको शव भेटिएको थियो ।
यस्तै, मन्त्री महासेठले बारा र पर्साका हावाहुरी पीडितसँग पनि भेटघाट गरेका छन् । पीडितसँग भेटेर उनीहरुको समस्या सुन्ने र राहत वितरणका सम्बन्धमा पनि जानकारी लिने उनको भनाइ थियो । राहत वितरण प्रभावकारी नभइरहेको भन्ने गुनासोका बीच उनले त्यसबारे जानकारी लिएका हुन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६