ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए । सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले बताए । चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।
१५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये दलित समुदायका २३, चार जना यादव र एक जना मुस्लिम समुदायको रहेका छन् । बाल कल्याण समितिले ती बालकलाई जनकपुर लगेको छ । चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए। रासस