काठमाडौं । जारी सिजनमा कमजोर प्रदर्शन गरिरहेको इंग्लिस क्लब चेल्सीले क्लबका महत्वपूर्ण खेलाडी इडेन हजार्डलाई बेच्न लागेको चर्चा बाहिर आएको छ ।
यो सिजनमा चेल्सीले लिगका कमजोर प्रदर्शन गर्दैै शीर्ष चारका लागि संघर्ष गरिरहेको छ । स्पेनिस पत्रिका मार्काले स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनमा हाजार्डसहित तीन खेलाडी ल्याउन लागेको जनाएको छ ।
हजार्डसँगै मड्रिडले ब्राजिलियन क्लब सान्तोषबाट फरवार्ड रोड्रिगो र पोर्चुगिज क्लब पोर्टोमा रहेका ब्राजिलियन डिफेन्डर इडर मिलिटाओलाई ल्याउने भएको हो । तीनै खेलाडीसँग सहमति भइसकेको र सम्झौताको प्रक्रिया केही दिनमा सकिने मार्काले जनाएको छ ।
हाजार्ड मड्रिड आउन तयार भएपनि चेल्सीले उनलाई बेच्न नचाहेका कारण क्लबमा भित्र्याउन सकेको थिएन । उनी रियल जानेबारे चेल्सी र हाजार्ड आफैंले पनि पछिल्लो समयमा केही बोलेका छैनन् ।
चेल्सी यसपटक युरोपा लिगबाहेक सबै उपाधीको होडबाट बाहिरिइसकेको छ । चेल्सीमा यो सिजन बोरुसिया डर्टमुण्डका क्रिष्टियन पुलिसिक आउँदैछन् । पोलिसिकसँग जनवरी ट्रान्सफरमा नै हस्ताक्षर भइसकेको छ ।
हाजार्डले चेल्सीसँगको नयाँ सम्झौतामा अनिच्छा देखाउँदै आएका छन् । उनका लागि मड्रिडले झण्डै सय मिलियन युरो खर्च गर्न लागेको छ । गत सिजन चेल्सीले हजार्डको मूल्य दुई सय मिलियन युरो मागेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६