विराटनगर : मोरङको पथरीमा एक महिलाको शव नग्न अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । पथरी शनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रिना बस्नेतको हत्या गरिएको अवस्थामा शनिबार शव फेला परेको हो ।
पथरीमा शुक्रबार राति आयोजना गरिएको सांगीतिक कार्यक्रम हेर्न भनेर कोठाबाट निस्किएकी बस्नेतको शव नग्न अवस्थामा फेला परेको थियो । बिहान मर्निङवाकमा निस्किएका स्थानीयबासीले शरीरबाट रगत बगेर घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘आफ्नै कोठा नजिकै उनको शव फेला परेको छ । अहिले नै के हो भन्न सकिने अवस्था छैन ।’ घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले टेलिफोनमा भने, ‘हिजो राति मदिरा सेवन गरेको भन्ने बुझिएको छ । हामी प्रारम्भिक अनुसन्धानमै छौँ ।’
बस्नेत आफ्ना १३ वर्षीय छोरा साइमनका साथ पथरीमा कोठा भाडामा लिई बस्दै आएकी थिइन् । नाङ्गै घप्टो परेको अवस्थामा शव फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान पनि गरिएको छ ।
प्रहरी निरिक्षक बजगाँईले अहिले नै हत्या हो अन्य कुनै कारणले मृत्यु भएको हो पुष्टि गर्न नसकिने बताए । बजगाँईले भने, ‘कोठाको नजिकै शव फेला परको हो । हिजो राति पनि मदिरा सेवन गरेको भन्ने बुझिएको छ । घरको माथिबाट लडेको पनि हुन सक्छ । हामी अनुसन्धान गर्दै छौँ ।’
तर शव नाङ्गै फेला पर्नुले हत्या नै भएको स्थानीयको दाबी छ । आमा र छोरा शुक्रबार राति पथरीशनिश्चरे–१ को प्रस्तावित रंगशालामा कन्सर्ट हेरेर रातको ११ बजे डेरा आएको बुझिएको छ ।
पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतका पति सन्तोष वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६