विराटनगर : बालिकालाई प्रेम गर्ने बहानामा फसाएर बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई महिनाअघि विराटनगर हराएकी एक बालिकालाई प्रहरीले काठमाडौंको सिनामंगलबाट उद्धार गरेको छ । ललाइफकाई प्रेम गर्ने बहानामा बलात्कार गर्ने युवालाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी तथा प्रवक्ता घनश्याम श्रेष्ठले दुवैलाई अभिभावक, आफन्त र प्रहरी बृत गौशलाको सहयोगमा काठमाडौंमा फेला परेको बताए ।
उनले आजको न्युजसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा प्रेमको जालमा पार्दै लगातार बलात्कार गरेको देखियो । यो उमेर सहमतिमा भए पनि शारीरिक सम्बन्ध राख्नु भनेको गैरकानुनी हो । कानुनले यस्तो प्रवृतिलाई दण्डित गर्छ ।’
विराटनगर महानगरपालिका–१३ रानीबाट गत फागुन ५ गते आमासँग तरकारी खरिद गर्न सोही स्थानमा रहेको हाट गएकी १४ वर्षीया बालिका बेपत्ता थिइन् । बेपत्ता भएकी बालिकाको आमाले छोरीको खोजी गरिपाउँ भनी फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा हुलिया निवेदन दिएकी थिइन् । प्रहरीले हराएकी बालिका र उनलाई प्रेमजालमा फसाउने युवकको पहिचान गरी खोजी कार्य जारी राखेको थियो । काठमाडौंमा फेला परेका दुवैलाई हिजो नै विराटनगर ल्याइएको थियो ।
‘हामीले बालिका र युवकको खोजी कार्य निरन्तर जारी राखेका थियौँ । ती बालिकालाई लैजाने युवक ३० वर्षीय दीपक राउतको पहिचान गरिसकेका थियौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘तर उनीहरूले मोबाइल लगायतको उपकरण प्रयोग नगर्ने हुँदा उनीहरूको स्थान ठम्याउन गाह्रो थियो । पछि अभिभावककै सहयोगमा हामीले राउतलाई पक्राउ गर्न सक्यौँ ।’
अविवाहित राउतको स्थायी घर सप्तरी राजविराज नगरपालिका १४ गोर्खाली टोल हो । उनी हाल विराटनगर महानगरपालिका १४ जतुवामा बस्दै आएका थिए । प्रहरीका अनुसार राउतले ती बालिकालाई करणी गरेको स्वीकारेका छन् । बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने पक्राउ परेका राउतलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ बमोजिम जबर्जस्ती करणीअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६