चतरा (बराहक्षेत्र) : नेपालमा इन्जिनबाट चल्ने (पानी)जहाजको कल्पना गर्न थालिएको भर्खरै हो । यसअघि र हालसम्म पनि काठेडुंगाको सहारामा नेपालीहरू जलयात्रा गर्थे/गर्छन् । खोला वारपार गर्न मात्र होइन, सरसामान ओसारपसार गर्न पनि काठेडुंगाकै भर पर्नुपर्ने अवस्था छ ।
तर सुनसरीको चतरा (बराहक्षेत्र) मा भने सप्तकोसी नदीमा पानीको छालसँगै जेटबोटमा यात्रा गर्नुको रमाइलो बेग्लै छ । हालै सप्तकोसीमा मिनी पानीजहाज भनिने यात्रुवाहक जेटबोट सञ्चालनमा आएपछि जलयात्री बढेका मात्रै छैनन्, आन्तरिक पर्यटनमा पनि प्रवद्र्धन भएको छ । स्वदेश तथा विदेशमा निर्मित जेटबोटले यात्रुहरूलाई सेवा दिइरहेका छन् । सप्तकोसी नदीमा नेपालमै पहिलोपटक बनेको जेटबोट सञ्चालनमा आएपछि जलयात्रा गर्नेको संख्या दिनदिनै बढ्न थालेको छ ।
सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रा.लि.ले सगरमाथाको उचाईको नाममा ‘माउन्ट ८८४८’ जेटबोट सञ्चालनमा ल्याएको छ । जेटबोट निर्माण भने नेपाली इन्जिनियरहरू सुमन खत्री र लेखराज रिजालले गरेका हुने । जेटबोटमा लाग्ने इन्जिन भने विदेशबाट झिकाइएको हो । मोरङको सुन्दर हरैँचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जिडिएस फाइबर वल्डकोसँगको सहकार्यमा निर्माण भएको जेटबोटमा एकपटकमा ३० जनाले यात्रा गर्न सक्छन् ।
जेटबोटमा बालबालिका मात्र होइन, वृद्धवृद्धा समेत चासोपूर्वक यात्रा गर्ने गरेका छन् । एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको जेटबोटबाट सुनसरी, उदयपुर, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्न सकिन्छ । प्रा.लि.का सदस्य राजेन्द्र कार्कीले नेपालकै युवाहरूको सामूहिक पहलमा थालिएको यो अभियानले सबैलाई फाइदा पुगेको बताए । कार्कीले भने, ‘हामी निकै उत्साहित छाँै । जेटबोटप्रतिको सर्वसाधारणको आर्कषणले हामीलाई थप ऊर्जा मिलेको छ ।’
जेटबोटको रोमाञ्चक जलयात्राले पहाडी भेगमा कठिन यात्रा गर्नुपर्ने स्थानीयका लागि राहत मिलेको छ । सुनसरीको बराहक्षेत्रबाट सञ्चालन हुने बोटबाट उदयपुर, भोजपुर र धनकुटा जिल्लालाई जलयात्रामार्फत् २० मिनेटको दूरीले जोडेको छ । जलयात्राले भोजपुरको हतुवागडी, आमचोक, धनकुटाको शहीद भूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोड्छ ।
जेटबोटले अहिले ३८ किलोमिटरको यात्रालाई २० मिनेटमा जोड्ने गरेको छ । प्रतिघण्टा ७० किलोमिटरको रफ्तारमा दौडिने जेटबोटले प्रतिघण्टा ५० लिटर डिजल खपत गर्छ । बराहक्षेत्रदेखि भोजपुरको सिम्लेसम्म पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य गरेको छ जेटबोटले । प्रा.लि.ले दुईतर्फी यात्राको शुल्क आठ सय रुपैयाँ निर्धारण गरेको छ । जेटबोट सञ्चालन भएपछि पहाडी उत्पादनले तराईमा बजार पाएको छ । साथै पहाडबासीलाई स्वास्थ्य उपचारका लागि समेत तराई झर्न राहत मिलेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६