काठमाडौंः नवराज थापा साउदी अरबमा बसेर फर्किएको वर्ष दिन भयो । बीस महिने पट्यारलाग्दो यात्राको अन्त्य गर्दै उनी फर्किएका हुन् । भनेको जस्तो काम नभएपछि उनी फर्किएका हुन् । स्टोर म्यानेजर पदमा गएका थिए । तर, सेल्समा काम दिएपछि असन्तुष्ट भएर चाँडै फर्किएको उनी बताउँछन् ।
नेपाल त फर्किए तर, गरिखान केही न केही त गर्नैपर्यो । बल्लतल्ल काठमाडौंमा जागिर खान थाले । नेपालको सामान्य जागिरबाट परिवार पाल्नु त्यति सहज छैन । सरकारले विदेशबाट फर्किएका, महिला, जनजाति, शैक्षिक बेरोजगरालाई बिनाधितो ऋण दिन्छ भन्ने सुनेकासम्म थिए, उनले । तर, बाँकी प्रक्रियाबारे उनी अनभिज्ञ थिए ।
सञ्चारमाध्यम, साथीभाइको सहयोगमा विदेशबाट फर्किएका कोटाबाट ऋण लिएर केही गर्ने सोच बनाए । अन्ततः ३३ वर्षीय थापाले राष्ट्रिय वाणिज्य बैंकबाट दस लाख रूपैयाँ ऋण लिए । त्यसपछि उनको यात्रा उद्यमतर्फ सुरु भयो । ऋण पाएपछि उनले काठमाडौं, ठूलो भर्याङमा खाद्यान्न सप्लायर्स सुरु गरे । सरकारको सहुलियत कर्जा पाएर खुसी भएका थापा भन्छन्, ‘हामी जस्तालाई यस्तो सहुलियत कर्जा पाउनु भनेको निकै राम्रो कुरा हो । तर, मिहिनेत विदेशमा जस्तै गर्न सक्नुपर्छ ।’
त्यस्तै दैलेखका भीमप्रसाद अधिकारीले पनि शैक्षिक कर्जा लिएर बिपी तन्दुरी क्यान्टिन सञ्चालनमा ल्याएका छन् । उनको तन्दुरी पसल नैकापमा छ । सरकारको शिक्षित युवा स्वरोजगार कर्जा लिएका अधिकारी भन्छन्, ‘कर्जा लिएको तीन महिना भयो । पहिलो किस्ता तिरेँ । बाँकी विस्तारै तिर्दै जान्छु ।’
प्रचारमा ल्याएजस्तो सहुलियत कर्जा लिन गाह्रो नभएको उनको अनुभव छ । अध्ययनपछि उनले जागिरका लागि धेरै ठाउँ धाए । कतै भनेजस्तो पाएनन् त कतै कामले खोजेजस्तो आफू भइएन । अन्ततः उनले पनि उद्यमी हुने बाटो रोज्दै सहुलियत ऋण लिए ।
यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले असोज ११ गते सबै वाणिज्य बैंकहरूलाई परिपत्र गर्दै सहुलियत कर्जा दिन निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले सात वटा शीर्षकमा कर्जा उपलब्ध गराउन बैंकहरूलाई परिपत्र गरेको थियो । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा उपलब्ध गराउन भनेको थियो । त्यस्तै दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्प पीडितको निजी आवास निर्माण कर्जालाई सहुलियत रूपमा वितरण गर्न राष्ट्र बैंकले परिपत्र गरेको थियो ।
जे सोचेर सरकारले नीति तथा कार्यक्रम ल्यायो, त्यसअनुसार प्रभावकारी नभएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पौडेल बताउँछन् । उनी भन्छन्, ‘चैत मसान्तको तथ्यांक आइसकेको छैन । पुस मसान्तसम्मको तथ्यांक हेर्दा सहुलियत कर्जा खासै वितरण भएको पाइएन । चैत मसान्तको तथ्यांक बढेर आएको हुनुपर्छ ।’
बिना धितो ऋण दिनुपर्ने भएकाले पनि यो खासै प्रभावकारी नभएको जस्तो देखिन्छ । तोकिएका बैंंकहरूले सहुलियत रूपमा कर्जा नदिएको भन्दै पटकपटक फोन आउने गरेको उनले सुनाए ।
राष्ट्रिय वाणिज्य बैंकबाट चैत मसान्तसम्मा आठ जनाले शिक्षित युवा स्वरोजगार कर्जा पाएका छन् । त्यस्तै विदेशबाट फर्किएका युवा परियोजना कर्जा अन्तर्गत आठ, महिला उद्यमशीलता कर्जा ६२, दलित समुदाय कर्जा चार, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच, भूकम्प पीडितको निजी आवास कर्जा १५ जनाले पाएका छन् ।
वाणिज्य बैंकका नारायण लामिछाने भन्छन्, ‘कतिपय व्यक्तिहरू प्रमाण नपुगेका आधारमा फर्किएका छन् । सम्पूर्ण प्रमाण नजुटेकाले कर्जाका लागि आएका कतिपय फाइलहरू पेन्डिङमा छन् ।
यसरी लिन सकिन्छ सहुलियत कर्जा
राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणका लागि आवेदन दिन सकिने छ । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।
पहिलो, शिक्षित युवा स्वरोजगार कर्जा । यसमा शिक्षित युवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिन सक्ने अर्थ मन्त्रालयले जनाएको छ । कम्तीमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ ।
ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तीमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनुपर्ने छ । यसको प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।
यस्तै उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पनि कर्जा लिन सकिने छ । माध्यामिक वा त्यस सरह उत्तीर्ण भएका र २५ वर्ष नकटेका युवाले यो कर्जा लिन पाउने छन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनुपर्ने छ ।
यसरी कर्जाका लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने छ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र पनि समावेश गर्नुपर्छ । प्राविधिक शिक्षा कर्जाका लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नुपर्ने छ ।
यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिने छन् । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुने छ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा सात लाखको र उच्च शिक्षा अध्ययन कर्जाको सीमा पाँच लाख रूपैयाँ हुने छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६