विराटनगर : श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलले आफूविरुद्ध चालिएका कदमको डटेर सामना गर्ने उद्घोष गरेका छन् ।
शुक्रबार आफ्नै कार्यकक्षमा आजको न्युजसँग कुरा गर्दै सञ्जेलले भ्रष्टाचारविरुद्धको अभियानमा जस्तो चोट आउँछ, त्यस्तै गरी आफू भिड्ने बताए ।
‘तपाईंले त प्रधानमन्त्री, विभागीय मन्त्री र सचिवविरुद्ध खुलेर चुनौती दिनुभएको थियो, अहिले अख्तियारको कदम त्यसैको असर त होइन ?’ भन्ने प्रश्नमा उनले भने, ‘यदि त्यसको असर हो भने त्यो असर थाम्न प्रेम सञ्जेल तयार छ । अब त्यसमा पनि भिड्ने हो । उनीहरू लरतरो तरिकाले आइलागे लरतरो चोटले भिड्ने हो । दह्रो गरी आए दह्रै गरी भिड्ने हो ।’
राज्यले आफूमाथि पहिले पनि प्रहार गरेको बताउँदै उनले निर्वाचन कार्यालयमा हुँदा समेत आफूलाई हटाउन खोजिएको बताए । राज्य आफैँ नियोजित तवरले आफूमाथि आइलागेको उनको भनाइ थियो । सञ्जेलको कथन थियो, ‘देशका प्रधानमन्त्री केपी शर्मा ओली आफैँ भ्रष्टाचार गर्दिनँ भन्ने तर मैले भ्रष्टाचार गर्दिनँ भन्दा चैं वहाँकै मान्छे मेरो विरुद्धमा लाग्छन्, सरकार नै मेरो पछि लाग्छ भने म के भनूँ ?’
उनले आफू विरुद्धमा लाग्नेहरूलाई स्वागत गर्ने जनाउँदै आफ्नो जागिर अवधिभर ‘जनताको सेवा’ नै गर्ने प्रष्ट पारे । सञ्जेलले अख्तियारलाई आफूविरुद्ध लागेको आरोप पुष्टि गर्न चुनौती समेत दिए । ‘म अहिले पनि दुःखी छैन । अख्तियारको आरोप निराधार छ । ‘उसले बोलाएको छ, म उपस्थित भएर अख्तियारको सामना गर्ने छु । जनताले बुझ्ने कुरा हो, मलाई अहिले अफिसले खटाएको छ । सकेसम्म चाँडै जान्छु ।’
जागिर अवधिभर अहिलेसम्म कुनै भ्रष्टाचार नगरेको बताउँदै जनताको हितमा जे गर्न पनि तयार रहेको बताए । सञ्जेलले भने, ‘म त जनताको काम गर्ने मान्छे । सधैँ जनताको काम नै गर्छु । हेर्नु न, तपाईसँग बोल्ने फुर्सद पनि छैन । ४० वर्ष जागिर खाएको छु । भ्रष्टाचार गरेको छ कि, छैन आमजनताले बुझ्ने कुरा हो । जनताले बोल्छन्, प्रेम सञ्जेल कस्तो हो ।’
हेर्नुस् भिडियाे :
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६