काठमाडौं : उनले डेढ दशकअघि काठमाडौंमा ट्याम्पो चलाउँदा महिला चालक मुस्किलले १०–१२ जना थिए । तर करिव १५ वर्षको लामो यात्रामा उनी जस्तै काठमाडौंमा ७२० जना बढी चालक भइसकेकोमा उनी खुसी छन् । उनको खुसी व्यवसायमा महिलाको उपस्थिति बाक्लिएकामा भन्दा आफ्नो सफलतामा धेर छ ।
काभ्रेकी कोमलकुमारी तिमिल्सिना एक सफल ट्याम्पो व्यवसायी हुन् । कोमलले ट्याम्पो चलाउन थालेको २०६१ सालदेखि हो । उनले दुई वर्ष साहुको ट्याम्पो चलाइन् । दुई वर्ष ट्याम्पो चलाउँदा साहुलाई कमाएको रकमको बढी अंश दिनुपर्ने भएकाले उनले आफैँले ट्याम्पो किनिन् । उनले २०६३ सालमा किस्तामा ट्याम्पो खरिद गरेकी हुन् । उनले किनेको विद्युतीय ट्याम्पो भएकाले सोलारबाट चल्ने उनले बताइन् । यसले कम वातावरण प्रदूषण गर्ने विषयमा समेत जानकार छन् उनी ।
ट्याम्पो किनेपछि उनले मिहिनेतका साथ दैनिक सुन्धारा, रत्नपार्क, जमल, कमलपोखरी, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला र चाबहिलको रुटमा ट्याम्पो चलाइन् । उनी अहिले पनि त्यही रुटमा ट्याम्पो चलाउँछिन् ।
उनले ट्याम्पो चलाएको पैसाले घर खर्च र दुई सन्तानको पढाइ खर्च जुटाइन् । उनले मिहिनेत गर्न छाडिनन् । उनको मिहिनेत र धैर्य अनि नियमित बचत गर्ने बानीले काठमाडौंकी स्थायी बासिन्दा भएकी छन् ।
उनको पुरानो घर काभ्रेपलान्चोक हो । उनले ट्याम्पो चलाएर नै इमाडोलको शीतलहाइटमा एक करोड १० लाख रुपैयाँ बराबरको घर किनिसकेको बताइन् ।
उनले सुरुमा ट्याम्पोको किस्ता तिर्दै गइन् । उनले बीचमा एउटा ट्याक्सी किनेको पनि बताइन् । ट्याक्सी उनका भाइले चलाउँछन् । फेरि एउटा ट्याम्पो र जग्गा किनेको बताइन् उनले । पछि ट्याम्पो र जग्गा बेचेर इमाडोलमा घर बनाएको उनको भनाइ छ । काठमाडौंमा मिहिनेत गरे राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।
उनका एक छोरी स्नातक तहको दोस्रो वर्ष र छोराले स्नातक तह प्रथम वर्षमा अध्ययन गराउने खर्चसमेत उनकै मिहिनेतले धानेको छ । उनले अहिले पनि दैनिक तीन हजार रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गर्छिन् । उनले अहिले घरको किस्ता र ट्याम्पोको किस्ता पनि यही आम्दानीबाट तिर्दै आएकोे बताइन् ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६