कालिकोटः जिल्लाको खाँडाचक्र नगरपालिकाले प्रदान गरेको आधारभूत तह परीक्षा (बीएलई) को मार्कसिटमा चरम लापर्बाही गरेको पाइएको छ ।
खाँडाचक्र नगरपालिका–१ स्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत रोहित रावलले गत चैतमा कक्षा ८ को परीक्षा दिएका थिए । उनले सो तह पास गरेको मार्कसिट त पाए । तर बाबुको नाम अर्कै भएको ।
कालिकोटका पत्रकार मीनबहादुर रावल (रमेश) का छोरा रोहितको मार्कसिटमा बाबुको नाम ‘भीमप्रसाद पाण्डे’ उल्लेख छ । स्थानीय तहले लिने कक्षा ८ को परीक्षामा यस्तो हुनु चरम लापर्बाही भएको रोहितका बाबु रमेश बताउँछन् ।
रावलले आजको न्युजसँग कुरा गर्दै भने, ‘यसमा नगरपालिका, शिक्षा शाखाका कर्मचारी र विद्यालय प्रशासनको पनि गैरजिम्मेवारीपन देखिन्छ ।’ नगरपालिकाबाट गलत मार्कसिट आए पनि विद्यालयले चेक गरेर सच्याउनुपर्नेमा त्यस्तो नगरेर विद्यालय र हस्ताक्षर गर्ने प्रधानाध्यापकले पनि लापर्बाही गरेको रावलको भनाइ थियो ।
उक्त मार्कसिटमा विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको हस्ताक्षरका साथै नगरपालिका र विद्यालय दुवैको छाप लगाइएको छ । नगरपालिकादेखि विद्यालयसम्म सहीछाप हुन्जेल पनि त्यो ‘मिस्टेक’ कसैले देखेन । स्मरण रहोस्, भीमप्रसाद पाण्डे सोही नगरपालिकाकै कर्मचारी हुन् ।
यस विषयमा जिज्ञासा राख्दा नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले परीक्षा समिति र मार्कसिट तयार गर्नेको कमजोरीका कारणले गल्ती भएको हुन सक्ने बताए । उनले भने, ‘परीक्षा समितिका मान्छेहरू बाहिर गएका छन्, आएपछि म बुझ्छु ।’
नगरपालिकाले पहिलोपटक स्थानीय तहको परीक्षाको अभ्यास गरेकाले पनि गल्ती हुनु स्वभाविक भएको उनले बताए । भने, ‘हामीले पहिलोपटक यस्तो परीक्षा गराएका हौं, त्यसैले साथीहरूको अनुभव पनि भएन ।’
समाचार तयार गर्दै गर्दा मेयर पाण्डेले आफैँ फोन गरेर ‘मार्क लेजरमा भने बाबुको नाम मीनबहादुर रावल नै रहेको तर मार्कसिट बनाउने कर्मचारीले झुक्किएर भीमप्रसाद पाण्डे लेखेको’ जानकारी दिए । उनले यसबारेमा आफूले ‘एक्सन लिने’ जानकारी दिए ।
यसबारेमा विद्यालयसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६