काठमाडाैं: भक्तपुरमा नौ दिन मनाइएकाे प्रसिद्ध बिस्केट जात्रा बिहीबार सकिएकाे छ ।
गत चैत २७ गते तौमढीबाट भैरबको रथ तानेर सुरु भएको जात्रा बिहीबार साँझ गःहिटीबाट भैरबको रथ तानेर सम्पन्न गरिएको हो । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर सम्पन्न गर्ने परम्परा छ ।
जात्राको अन्तिम दिन आज साँझ साढे ५ बजेबाट गःहिटीबाटबाट भैरबको रथ तानेर बंशगोपालतर्फ लगिएको छ । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर बंशगोपालसम्म पुर्याएपछि रथलाई फेरि फर्काएर भैरबको मूर्तिलाई देवता घरमा लगेपछि जात्रा सम्पन्न गरिने परम्परा छ ।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराइसकेपछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् ।
रथलाई तानिसकेपछि आज पाँचतले मन्दिरअगाडि तौमढीमा राखी रथबाट भैरब देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिनी मरे ?) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।
भक्तपुरको कुमाले टोलमा चैत ३० गते उठाइएको लिङ्गो र मध्यपुरथिमिको बोडे महालक्ष्मी मन्दिर अगाडि उठाइएको लिङ्गो समेत बिहीबारै ढालिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६