यात्रुः ‘गुरुजी, शहीद गेटनेर रोक्दिनु है ।’
चालकः ‘ट्राफिकले रोक्न दिँदैन, ट्राफिक रै’नछ भने रोक्दिम्ला नभए सुन्धारा नै झर्नुपर्छ ।’
काठमाडाैंकाे पुरानो बानेश्वरबाट सुन्धारा जाँदै गरेको माइक्रोबस मैतीदेवी पुग्दा यात्रु र माइक्रो चालकबीच भएको संवाद हो यो ।
त्यति मात्रै होइन । बुधबार चाबहिल चोकमा सधैँ रोकिने ठाउँमा ट्याम्पो नरोकिएपछि चालकलाई सोधियो, किन नरोकेको ? उनकाे उत्तर सुनेर थाहा भयो– त्यो ठाउँमा आज ट्राफिक पुलिस ड्युटी बसेको रहेछ ।
उक्त दिन यो संवाददाताले काठमाडौंका विभिन्न चोकमा नियाल्दा ट्राफिक प्रहरी ड्युटी बसेको र नबसेको अवस्थामा दृश्य फरकफरक देखियो ।
विशेष गरी जोरपाटी, पुरानो बानेश्वर, सेतोपुल, रातोपुल लगायतका क्षेत्रमा यस्तो अवस्था देखियो । पुरानो बानेश्वरका व्यवसायी गणेश भण्डारीको अनुभव पनि त्यस्तै छ । उनका अनुसार कहिलेकाहीँ ट्रफिक प्रहरी ड्युटीमा छैन भने यातायातका साधन पेलेर लाने, अरूलाई बाटो नदिने जस्ता समस्या बढी हुन्छ । एक जनाले नियम मिचेर हतार गर्नाले सयौं यात्रु घण्टौँ लामो जाममा बस्नुपर्ने बाध्यता आउने उनको बुझाइ छ ।
अझ रोचक त के भइदिन्छ भने अरू कसैले बाटोमा पेलेर ओभरटेक ग¥यो भने धारे हात लगाउँदै गाली गर्ने मान्छे थोरै ठाउँ आफैँ पाए नियम मिच्दै छिर्न पछि पर्दैनन् । ट्राफिक प्रहरी ड्युटीमा रहेको समयमा कमै मात्र जाम हुने बानेश्वर चोकमा ट्राफिक प्रहरी छैन भने धेरै समय जाम हुने गरेको छ ।
राजधानीका प्रायः सबै सडकमा ट्राफिक संकेत राखिएको छ । हरेक चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने बेलामा लिखित परीक्षा दिनुपर्ने हुन्छ, जतिबेला सडकलगायत ट्राफिक नियमसम्बधी सबै कुरा सोधिएको हुन्छ । उक्त परीक्षमा उत्तीर्ण भएपछि मात्रै चालक परीक्षण (ट्रायल) मा सहभागी हुन पाइन्छ ।
तर काठमाडौंका हरेक चोक र गल्लीमा हुने ट्राफिक अस्तव्यस्तता हेर्ने हो भने कसैले पनि लिखित परीक्षा पास गरेर लाइसेन्स निकालेको भान हुँदैन । बाटोमा ट्राफिक प्रहरी देखेमा चालक धेरै सचेत देखिन्छन् भने ट्राफिक नहुँदा चालकले लापर्बाही गर्दा बढी दुर्घटना हुने गरेको पाइन्छ ।
ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता जयराज सापकोटा सडकमा चालकको लापर्बाही शून्यमा झार्न नसके पनि न्यूनीरकण गरेको बताउँछन् । विभिन्न चेतनामूलक कार्यक्रमले प्रभाव पारेको उनको भनाई छ । भन्छन्, ‘काठमाडौंमा १२ लाख सवारी साधन छन् । जसमा दैनिक हजार÷पन्ध्र सय मात्र कारबाहीमा पर्नु भनेको नराम्रो होइन ।’
काठमाडौंमा पुल, उकालो, रोक्ने ठाउँ, प्रवेश निषेध, गति, जोखिम क्षेत्र जस्ता ट्राफिक चिह्न पर्याप्त भए पनि ट्राफिक प्रहरीले हरसेकेन्ड इसारा गरिरहेको देखिन्छ । काठमाडौंमा बढ्दो यातायातका साधन, पुराना साधन व्यवस्थापन हुन नसक्नु र नियम मिच्ने समस्याका कारण धेरै दुर्घटना हुने गरेको तथ्यांक छ ।
उपत्यकामा चालु आर्थिक वर्षमा पाँच हजार पाँच सय ७३ दुर्घटना भए । दुर्घटनामा एक सय ६९ जनाको मृत्यु, एक सय ९६ जना गम्भीर घाइते र तीन हजार सात सय ८७ जना सामान्य घाइते भएका छन् । उक्त दुर्घटनामा नौ हजार नौ सय ५४ वटा सवारी साधन परेका छन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि एक हजार तीन सय ५० जना ट्रफिक प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बुधबार मात्र ‘टु ह्विलर बेस प्रोग्राम’ मार्फत कलंकी मन्दिर, रणोद्वीप, जडीबुटी, सल्लाघारी, कुलेश्वर, भाटभटेनी, हायात, सातदोबाटो, गौरीघाट र न्युरोड गेटमा एक हजार आठ सय ७७ वटा दुई पांग्रे सवारी चालकलाई पाँच मिनेटको ट्राफिकसम्बन्धी जानकारी गराई स्टिकर तथा पर्चा पम्प्लेट समेत प्रदान गरेको ट्राफिक महाशाखा काठमाडौंले जनाएको छ ।
सूचना र संकेतको प्रयोग भइरहेको भए पनि त्यसको कार्यान्वयनको पाटो फितलो हुँदा पटकपटक चालकहरू कारबाहीमा पर्छन् । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी कारबाही लेन अनुशासनमा हुने गरेको छ ।
वैशाख १ गतेदेखि यताको चार दिनमा मात्रै पनि पाँच हजार सात सय पाँच साधन चालक कारबाहीमा परिसकेका छन् । प्रहरीका अनुसार बाटोमा ट्राफिक प्रहरी छैन भनेर नियम मिच्नेलाई पनि सिसी क्यामेराको सहयोगबाट कारबाही भइरहेको छ ।
महाशाखाका प्रवक्ता सापकोटाले भने, ‘प्रविधिको प्रयोगपछि ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही हुन थालेपछि दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ ।’
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६