काठमाडौं : उपत्यकाका सडकमा बुख्याँचा जस्ता देखिने ट्राफिक लाइटले काम गर्न छाडेको पनि वर्षौं भइसक्यो । विदेशी पाहुना आउँदा कुनैकुनै स्थानमा झल्याकझुलुक बलेको देख्न सकिन्छ तर धेरैजसो मृत भइसकेका छन् ।
‘ट्राफिक लाइट किन बल्दैनन् भन्ने प्रश्न पनि नौलो लाग्न छाडिसक्यो । अति व्यस्त सडकमा पनि ट्राफिक लाइट छैनन् । भएका लाइट पनि बल्दैनन्’, ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रवक्ता जयराज सापकोटा भन्छन्, ‘उपत्यकामा जम्मा पाँच स्थानमा मात्र लाइटले काम गरिरहेको छ ।’
अति व्यस्त चोकमा पनि लाइट नहुँदा र भएकाले पनि काम नगर्ने हुँदा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न निकै हम्मेहम्मे देखिन्छ । ‘लाइट नहुँदा इशारा गरिरहनुपर्ने बाध्यता छ । अति आवश्यक बत्ती नहुनु दुखद् हो’, पुतलीसडकमा भेटिएका एक ट्राफिकले भने, ‘समयअनुसार चल्नका लागि अन्य मुलुकहरूले भने विभिन्न प्राविधिक साधन भित्र्याइसकेका छन् ।’
ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा १३९ बत्ती आवश्यक छन् । यद्यपि, हाल उपत्यकाका पाँच स्थानका मात्र ट्राफिक लाइट प्रयोगमा आइरहेका छन् ।
सडक विभागलगायतका सरोकारवाला निकायले बेवास्ता गर्दा समस्याको समाधान हुन नसेकेको महाशाखाका प्रवक्ता सापकोटा बताउँछन् । ‘सम्बन्धित निकायलाई घचघच्याउने बेला आएको छ’, उनले प्रतिप्रश्न गर्दै भने, ‘हामीले मात्र गर्न सक्ने के छ र ?’
महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र बानेश्वर चोक, महागराजगञ्ज, सल्लाघारी, गठ्ठाघर, जडिबुटी चोक गरी पाँच स्थानमा मात्र ट्राफिक लाइट बल्छन् ।
जापान सहयोग नियोग (जाइका)ले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता पनि पाएका थिए तर केही वर्षपछि उक्त बत्तीले काम गर्न छाडेपछि समस्या उत्पन्न भएको हो ।
पुनः जाइकाले भक्तपुरका चार स्थानमा ट्राफिक बत्ती जडान गरिदियो तर हाल भक्तपुरका तीन स्थानमा मात्र बल्छन् । त्यस्तै, ट्राफिक महाशाखाको पहलमा काठमाडौं महानगरपालिका र सडक विभागले एक–एक स्थानमा बत्ती जडान गरेको थियो ।
उपत्यकाभित्रका सवारी साधन व्यवस्थापन गर्नका लागि पद्मोदय मोड, पुतलीसडक, कालीमाटी, थापाथली, माइतीघर, सिंहदरबार, केशरमहल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरिएको थियो तर अहिले त्यहाँ बत्तीका पोल त छन् तर बल्दैनन् ।
हाल काठमाडौंका विभिन्न स्थानमा रहेका शतप्रतिशत ट्राफिक लाइट सञ्चालनमा ल्याउनसके काठमाडौंका सडकमा कार्यरत २५ प्रतिशत ट्राफिक प्रहरी कटौती हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यता, ट्राफिक प्रहरीहरू ट्राफिक लाइट नभएका कारण सवारी साधनहरू नियन्त्रण र व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । लाइटले काम नगर्दा पैदल यात्रुले समेत सास्ती भोग्नुपर्ने बाध्यता छ ।
‘लाइटमा हेर्यो, काम गरेको छैन । बाटो काट्न खोज्दा दुर्घटना होला भन्ने डर’, कार्यालय जाँदै गरेकी गीता राई भन्छिन्, ‘लाइट नहुँदा सवारी चालक जेब्रा क्रसिङमा समेत तीव्र गतिमा आइरहेका हुन्छन् । यस्तो विषयमा सम्बन्धित निकायको ध्यान किन नपुगेको हो कुन्नि ?’
सडक विभागअन्तर्गतको काठमाडौं दिगो शहरी यातायात आयोजना, यातायात व्यवस्था विभागअन्तर्गतको आयोजना कार्यान्वयन इकाई, वातावरण विभागअन्तर्गतको आयोजना कार्यान्वयन इकाई, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिकालगायतका निकायहरूले यस विषयमा चासो देखाएको पाइँदैन । सडक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने ट्राफिक लाइट नहुँदा दुर्घटनासमेत बढ्ने गरेको महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६